अन्तर्राष्ट्रिय

बोको हरामको बारुदी सुरुङमा परी सन् २०१८ मा ५६५ जनाको मृत्यु

लागोस । नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उक्त जानकारी दिइएको हो ।उनीहरुले यस्तो हिंसात्मक हमला अहिले पनि जारी नै राखेका छन् ।

नाइजेरियाका बोको हरामहरुको जन्मस्थल मानिने माइदुगुरीमा आयोजना गरिएको एक कार्यक्रममा उक्त निकायका निर्देशक लियोनल पेचराले बिहीबार सो जानकारी दिएका हुन् । विश्वमा बारुदी सुरुङविरुद्धमा अभियान सञ्चालन गर्ने क्रममा माइदुगुरीमा बिहीबार बारुदी सुरुङका विरुद्धमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

बोको हरामले सडक आसपास मात्र नभएर खेतीपाती र अन्यत्र जथाभाबी बारुदी सुरुङ थाप्ने गरेकाले आम मानिसमा त्रास फैलिएको र किसानहरुलाई खेतबारीमा जान डर हुने गरेको ती अधिकारीले जानकारी दिए ।

उनले भने बारुदी सुरुङ निकै खतरनाक भएकाले यसका कारण नागरिकमा पनि ठूलो त्रास बढेको, सर्वसाधारण नागरिक निर्धक्क भएर बाटो हिँड्न या आफ्नो खेतीबालीमा जान पनि नसक्ने अवस्था आएको छ । उनले संसारमा नै यस्तो घातक कार्यको विरोध गर्न र संसारका नागरिकलाई यसका विरुद्धमा सचेत हुन सक्नेगरी सन्देश दिन आग्रह गरे। बोको हरामको हिंसाका कारण सन् २००९ देखि हालसम्म कम्तीमा २० हजार नागरिकको ज्यान गइसकेको छ । यो नागरिक हत्याको क्रम प्रतिदिन बढ्दो रुपमा रहेको अधिकारीहरुको भनाई छ ।

उनीहरुको हिंसाका कारण यहाँका करिब २६ लाख नागरिक घरबारबिहीन भएका छन् । त्यसैगरी अरु लाखौँ नागरिकले आफ्नो घरबास नै छाडेर आन्तरिक तथा बाह्य रुपमा नै शरणार्थीका रुपमा बाँच्नु परिरहेको छ । चाड, नाइजर र क्यामरुनमा सक्रिय यस चरमपन्थी समूहले सन् २०१५ मा इस्लामिक स्टेट लडाकू समूहसँग सहकार्य गरेको घोषणा गरेको थियो ।