शिक्षा

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति

काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रछात्रालाई जनक खड्का छात्रवृत्ति कोषले सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिस्वरुप आज सहयोग हस्तान्तरण गरिएको हो ।

विद्यालयमा मजदूरका छोराछोरी मात्र अध्ययन गरिरहेका प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । आर्थिक अवस्थाका कारण बेलुकी खानाखान नपाएका विद्यार्थी बिहान पनि भोकै विद्यालय आएर पहिलो घण्टीमै ढलेपछि सहयोगीलाई छात्रवृत्तिका लागि आह्वान गरिएकामा कोषले सहयोग गरेको उनले जानकारी दिए ।

“निम्न आयभएका विद्यार्थी भोकभोकै विद्यालय आउँदा पहिलो घण्टीमै ढले, कारण खोज्दै जाँदा बेलुकी आमाले भात नपकाएको र बिहान आमा मजदूरी गर्न हिँडिसकेकाले भोकै विद्यालय आएका विद्यार्थी ढलेको थाहा भयो, शिक्षकहरुले चन्दा उठाएर चमेनागृहमा खाना खुवायौँ, यस्तो वर्गका विद्यार्थीलाई सहयोग आह्वान गरिएको हो”, उनले भने ।

कोषले विपन्न वर्गका जेहेन्दार २० छात्रछात्रालाई रु दुई हजारदेखि रु दुई हजार ५०० सम्म वितरण गरेको छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कापी, कलम, सिसाकलम, कलरलगायत शैक्षिक सामग्री बाँडिएको थियो । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विपन्न वर्गलाई शिक्षामा विशेष सहयोग गर्ने गरी नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता जनाए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले न्यून आय भएका विद्यार्थीका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभएको थियो । विद्यालयमा हाल ४५० विद्यार्थी अध्ययनरत छन् । सम्पन्न वर्गका स्थानीयवासीले आफ्ना बालबालिका संस्थागत विद्यालयमा पढाउँदा डेरा गरेर मजदूरी गर्नेका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

यस्ता विद्यार्थी बाहिरबाट आउने भएकाले स्थानीयवासीबाट सामुदायिक विद्यालयलाई आर्थिक, भौतिक, नैतिकलगायत सहयोग पनि नमिल्ने गरेको शिक्षकहरुको गुनासो छ ।