गण्डकी प्रदेश

पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी

बेझाड । कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य दु्रत गतिमा भइरहेकाले रामपुर र चापाकोट क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । पाल्पा रामपुर नगरपालिका ६ र स्याङ्जा चापाकोट नगरपालिका–७ जोड्ने यो पुल जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।

तीन वर्षमा सम्पन्न गर्ने गरी सो पुल विसं २०७२ फागुन १६ गते शिलान्यास भएको थियो । १७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको सो पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा निर्माण हुँदैछ । कालीगण्डकी वेशी क्षेत्रमै गुणस्तरीय, नमूना र तीव्र गतिमा पुल निर्माणको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराईले बताए ।

पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ । “यो महीनाभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ, फागुनभित्रमा सम्पन्न गर्ने भनिएपनि प्राविधिक कारणले सम्पन्न गर्न कठिनाई भएपछि एक महीना पुल निर्माण कार्य लम्बिन पुगेको छ” उनले भने।

नयाँ वर्ष शुरुआतसँगै पुल सञ्चालनमा आउने पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । पुलबाट सहज र सुरक्षित रुपमा यात्रा गर्न सकिने र गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका हुन् । पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका लगायतका स्थानीयवासी यस पुलबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । नमूनाकै रुपमा छिटो छरितो पुल निर्माण भएको देख्दा रमाइलो लागेको रामपुर नगरपालिका–६ का स्थानीयवासी कृष्णकुमार अर्यालले बताए ।