प्रदेश 2

विपद् व्यवस्थापन समितिद्वारा हावाहुरीपीडितलाई १० लाख सहयोग

सिन्धुली । तराईका हावाहुरीपीडितलाई राहातस्वरुप रु १० लाख दिइने भएको छ । विपद् व्यवस्थापन समिति सिन्धुलीले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि सो सहयोग गर्ने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार कमलामाई नगरपालिकाबाट रु एक लाख ५० हजार, दूधौली नगरपालिकाबाट रु एक लाख ५० हजार र यहाँका अरु सात गाउँपालिकाबाट रु एक एक लाखका दरले रु सात लाख गरी रु १० लाख सहयोग गर्ने निर्णय भएको छ ।

चट्याङ, हावाहुरी, भूकम्पलगायत जोखिम न्यूनीकरण गर्न जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्था, सञ्चार माध्यम, सबैलाई पूर्व तयारी अवस्थामा रही विपत् व्यवस्थापन सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।