खेलकुद

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र

दाङ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो ।

अहिले त्यहाँ एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिए । उनका अनुसार एथलेटिक्स खेलका लागि त्यहाँ सिन्थेटिक ट्र्याक निर्माण भइरहेको छ । सिन्थेटिक ट्र्याक निर्माणका लागि चीनबाट सामग्रीसहित चिनियाँ प्राविधिकले यहाँ आई निर्माणको कामलाई तीव्र पारेका छन् ।

त्यसैगरी फुटबलका लागि आवश्यक खेलमैदान निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ । फुटबल खेलका लागि यतिखेर बेलझुण्डीमा रहेको मैदानमा हरियो दुबो रोपेर सजाइएको छ । रोपिएको दुबो नमरोस् र खेलमैदान हरियो दुबोमा होस् भन्ने उद्देश्यले सिँचाइदेखि त्यहाँ सजिसजावट गर्न शुरु गरिएको छ ।

दर्शकलाई बस्नका लागि साधारण प्यारापिट निर्माण सम्पन्न भएको छ । त्यसैगरी रङ्गशाला नजिकै पानीको सुविधाका लागि डिपबोरिङ पनि गरिएको छ । त्यसैगरी भीआइपी प्यारापिट निर्माण, खेलाडीका लागि चेन्जिङरुम, बैठककक्ष, भीआइपीकक्ष र मिडिया घरलगायतका पूर्वाधार निर्माणको काम शुरु भइसकेको अध्यक्ष डाँगीले जानकारी दिए ।

उनले भने, “आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई मध्यनजर गरी आवश्यक भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्र पारेका छाँै”, ती सबै पूर्वाधार निर्माणको जिम्मेवारी दिवाएमए प्रतिष्ठा कन्स्ट्रक्सन जेभी काठमाडौँले पाएको छ । ती सबै पूर्वाधार निर्माणका लागि रु २४ करोड २४ लाख ४५ हजार २९३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो ।

दाङमा राष्ट्रिय खेलकूद परिषद् तथा युवा खेलकूद मन्त्रालयको आयोजनामा आगामी वैशाखको ४ गतेदेखि ११ गतेसम्म विभिन्न आठ विधाका खेल हुने जिल्ला खेलकूद विकास समिति दाङले जनाएको छ । दाङमा एथलेटिक्स र महिला फुटबल प्रतियोगिताका खेल बेलझुण्डीमा हुने छन् भने तुलसीपुरको मल्टिपप्रोज कभर्डहलमा कराँते प्रतियोगिता, घोराहीको कर्भडहलमा आइटीफ तेक्वान्दो, ब्याटमिन्टन, पुरुष बास्केटबल र महिला बास्केटबल प्रतियोगिता हुनेछन् । त्यसैगरी लमही क्रिकेट मैदानमा महिला क्रिकेट खेल हुने जनाइएको छ ।

यसैबीच जिल्लामा पहिलोपटक यति धेरै खेलको प्रतियोगिता आयोजना हुनलागेकामा यहाँका नागरिक तथा खेलप्रेमी निकै खुशी भएका छन् । खेल प्रतियोगिता हुने भएपछि आफूलाई निकै उत्साही बनाएको यहाँका खेलप्रेमी सीताराम शर्माले बताए । त्यसैगरी तुलसीपुरका समाजसेवी तथा नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ५ का संयोजक विकल रिजालले पनि दाङमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आयोजनाले आफू निकै हर्षित भएको बताए । उनले नेपालभरिबाट राष्ट्रिय खेलाडीसहित अन्तर्राष्ट्रिय खेलाडीलाई दाङमा स्वागत गर्न पाउनु आफूहरुका लागि ठूलो अवसर रहेको बताए । साथै यसले खेलको विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ छ ।

दाङमा विसं २०४१ मा राष्ट्रिय महिला फुटबल प्रतियोगिता र गत वर्ष लिग चरणको फुटबल प्रतियोगिता मात्र भएको थियो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएपछि घोराही, लमहीमा रहेका कर्भडहल तथा खेलमैदानलाई पनि मर्मतसम्भार गरिनुका साथै सजिसजावट गर्न थालिएको छ ।

बिहीबार आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई भव्य र सभ्यरूपमा सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा विभिन्न सरोकारवाला निकायबीच छलफलसमेत भएको छ । छलफलमा खेलकूदलाई मध्यनजर गरी स्वागतद्वारा निर्माण, बृहत् सरसफाइ, खेलाडीका लागि उचित आवासको व्यवस्था, स्वागत तथा सम्मान, प्रचारप्रचारलगायतका काम गर्ने निर्णय गरिएको छ ।