कर्णाली प्रदेश

बर्षायाममा नदीको बीचमा टापुमा उद्यान बनेपछि बग्नसक्ने भन्दै स्थानीयवासीको चिन्ता

डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–३ अन्तर्गत दुनै बजारमा बनाउन लागिएको पर्यटकीय उद्यान निर्माणप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्खामा आउने भेरी नदीको उच्च बहावको मतलब नगरी बीच टापुमा उद्यान निर्माण शुरु गरिएपछि कर्णाली प्रदेश सरकारको करोडौँ बजेट बर्खाको भेलमा बग्नसक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका हुन् ।

पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हिसाबमा उद्यान निर्माणकार्य जिल्लावासीका लागि खुशीको कुरा भए पनि केही महीनापछि नै देखिने जोखिमलाई ख्याल नगरेर निर्माणकार्य शुरु गर्नु दुःखद भएको स्थानीयवासी ओम मगरले बताए । उद्यान निर्माणका लागि अन्यत्र सुरक्षित ठाउँ भए पनि नदीको बीच टापुमा करोडौँ लगानी गरेर उद्यान बनाउने सपना देख्नु प्रदेश सरकारको करोडौँ बजेट बालुवामा पानी खन्याएजस्तै हुने उनको जिकिर छ ।

प्रत्येक वर्ष भेरी नदीले आफ्नो मार्ग फराकिलो बनाउँदै गएकाले जोखिमको ख्याल नगरी बीच टापुमा करोडौँ रकम खर्च गरेर उद्यान निर्माण शुरु गर्नु राम्रो कुरा नभएको सरोकारवाला निकायको भनाइ छ । उद्यान निर्माण भइसकेपछि नदीको बहाव एकातिरमात्रै जाँदा दायाँतिरको बस्तीनै जोखिममा पर्ने बताउँदै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा लिखित तथा मौखिकरूपमा गुनासोसमेत गरेका थिए ।

सो विषयमा बिहीबार भएको छलफलमा तटबन्धन गरेर बस्तीलाई सुरक्षित बनाउनुपर्ने निचोड निक्लेको प्रजिअ मुकेशकुमार केशरीले जानकारी दिए । यता निर्माण समितिका अध्यक्ष्य अर्जुन हिराचनका अनुसार दुनै बजार नै वर्षौँदेखि असुरक्षित भए पनि अहिलेसम्म त्यस्तो अकल्पनीय क्षति नभएकाले उद्यान निर्माण मजबुत र सुरक्षित तरिकाले निर्माण गरिने बताए । “भेरी नदीको बायाँतिर पानीको बहाव कम भएकाले त्यतातिरनै उद्यान निर्माण शुरु गरिएको छ, मान्छेले भनेजस्तै जोखिम छैन”, उनले भने ।

उद्यान निर्माणका लागि आव २०७५/७६ मा प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वन मन्त्रालयले रु एक करोड रकमा विनियोजन गरेको छ । सो रकमबाट पहिलो चरणको काम शुरु गरिएको निर्माण समितिले जनाएको छ । योजना क्रमागत भएकाले निर्माणकार्य सम्पन्न हुन्जेलसम्म रु नौ देखि दश करोडसम्म खर्च हुने मन्त्रालयको अनुमान छ ।