राजनीति

एक वर्षदेखि म पार्टीभित्र बेरोजगार छु– नेता गौतम

काठमाडौँ । चितवनको भण्डारामा आयोजित स्वर्गीय नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृतिसभामा श्रद्धाञ्जलि दिँदै  नेकपाका सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गरे । “एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन”, उनले भने “म पार्टीभित्र बेरोजगार भएको छु ।” भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता गौतमको भनाइ छ ।

यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताए ।

सो स्मृति सभामा स्व नेता भेटवालकी छोरी सृजना भेटवालले बुबाले आफ्नो राजनीतिक जीवन सधैँ जनताका लागि समर्पित गरेको बताए । उनका अधुरा सपना पूरा गर्न पार्टी र सरकारबाट जनताप्रति समर्पित भएका काम गर्न अनुरोध गरे ।

नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो । स्मृति सभामा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, काशिनाथ अधिकारी, केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, केदार न्यौपाने, सांसद कृष्णभक्त पोखरेल, प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य विजय सुवेदी, कञ्चन खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका नेता यमबहादुर परियारको अध्यक्षतामा भएको थियो ।