समाचार

वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ, मैदान खाली जस्तै छ –नेता नेपाल

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताए । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताए ।

उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । “वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ”, नेता नेपालले भने “एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।” सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए ।

विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ । उनले पार्टीमा जागृतप्रसाद जस्ता नेताहरुको जगका कारण लोकप्रियता बढेको बताए । “भेटवाल सरल नेता हुनुहुन्थ्यो”, उनले भने “उनको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।” भेटवालबाट शिक्षा लिन सबै जनप्रतिनिधिलाई नेता नेपालको सुझाव छ ।