शिक्षा

‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक सार्वजनिक

काठमाडौँ । वरिष्ठ लेखक उत्तम सेढाइको ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक बजारमा आएको छ ।

समाजमा भएको विकृति, विसङ्गतिविरुद्ध तिखो प्रहार गरिएको सो पुस्तकमा जनचेतना अभिवृद्धि गराउन लेखकले प्रयास गरेका छन् । सो पुस्तकको नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सार्वजनिक गरे ।

सो अवसरमा काङ्ग्रेस नेता केसीले समाज परिवर्तनको निमित्त साहित्य तथा उसका सर्जकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लेखक सेढाइले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो चिन्तन गरेको बताए ।

उनले देशको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रमा विकृति मौलाउँदै गएको र आफ्नो मात्र स्वार्थ केन्द्रित गतिविधिमा बढोत्तरी भएको भन्दै पुस्तकले मानिसको सोचमा परिवर्तन ल्याउने बताए ।

साहित्यकार लक्ष्मण सापकोटाले समाजमा साहित्य लेखनले आम नागरिकको जीवनशैलीलाई परिवर्तन गराउन सफल रहेको बताए । पुस्तकका लेखक उत्तम सेढाइले साहित्य मानिसको आँखा भएकाले यसको माध्यमबाट जनचेतना बढाउने प्रयास गरेको बताए ।