समाचार

उच्च शिक्षाको भोकले भौतारिदैँ बुहारी

बर्दिवास । उच्च शिक्षाको भोकले महोत्तरीको बर्दिवास–१२ बिजलपुराकी छोरी रीताकुमारी महतोलाई काखको दूधेबालक र स्वास्थ्यक्षेत्रको सरकारी सेवाले पनि छेकवार गरेन । रीता दूधेबालक छोरा दुई वर्षीय लवराज कुशवाहलाई काखमा च्यापेर नै स्नातकोत्तर तहको अध्ययनका लागि बर्दिवास जनता बहुमुखी क्याम्पस पुग्छीन ।

“स्नातकोत्तर तहको अध्ययन गर्ने त पहिलेदेखि नै रहर थियो, तर काखको छोरा, कार्यालयको काम, बाहिर गएर पढ्ने आर्थिक अवस्था र परिवारजनको स्वीकृति नहुँदा मन मारेर बसेकी थिएँ,” रीताले भने “यसपालि स्नातकोत्तर तहको पठनपाठन शुरु भएपछि अब चै दुःखसुख पढाइ पार लगाउँला भन्ने आश जागेको छ ।”

रीताका माइती बर्दिवासमै भए पनि घर भने छिमेकको धनुषाको बटेश्वर गाउँपालिका–१ लक्ष्मीनिवासमा छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाको गौरीशङ्कर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रीतालाई सरकारी सेवा, क्याम्पसको पढाइ, घरको काममा सरसहयोग र छोराको हेरचाहको समय व्यवस्थापन गर्न भने हम्मेहम्मे परेको छ । “घरमा बिहान काम सकेर हतारमै खाएर कार्यालय पुग्नुपर्छ, कार्यालय समयपछि सरासर साँझ क्याम्पस पुगेर कक्षा सकिएपछि बल्ल घर जाने हो, छोराले नछाड्दा उसलाई पनि बोकेर नै कार्यालय र क्याम्पस पुग्ने गरेकी छु ।”

नजीकको क्याम्पसले स्नातकोत्तर तहको सन्ध्याकालीन कक्षा सञ्चालन गरिदिएकाले केही असजिलो मिच्दै पढाइमा जुटेको रीताको भनाइ छ । उनले क्याम्पसको शिक्षा सङ्कायमा स्वास्थ्य विषयको छात्रा भएकी छन्। उनीजस्तै बर्दिवास–१४ की सजिना भट्टराई ‘अधिकारी’ ले पनि स्नातकतह उत्तीर्ण गरेको चार वर्षपछि स्नातकोत्तर तहको अध्ययन शुरु गरेकी छन् ।

“स्नातक सकेलगत्तै पढाइ निरन्तर जारी राख्ने धोको त थियो, तर घर र माइतका अभिभावकले असुरक्षाको कारण देखाएर बाहिर जान अनुमति नदिएपछि मन मारेर बसेकी थिएँ,” सजिनाले भनीन्, “अलि ढिलै भए पनि अब स्नातकोत्तर पूरा गर्ने रहर पूरा भएको छ ।” भर्खरै शिक्षा आयोग उत्तीर्ण गरेर जनता मावि बर्दिवासमै शिक्षक नियक्त भएकी सजिनालाई पनि बिहान नौ वर्षीय छोरालाई तयार पारेर विद्यालय पठाउन, आफु तयार भएर पढाउन विद्यालय जान र साँझ क्याम्पसमा पढ्न पुग्न दौडादौडी नै हुने गरेको छ ।

बर्दिवास–१४ मै चार वर्षपहिले विवाह भएर आउनुभएकी लीला कार्की ‘थापा’को स्नातक सकेको पाँच वर्षपछि र बर्दिवास–२ की सुशीला पौडेल ‘ढुङ्गाना’को स्नातक सकेको छ वर्षपछि स्नातकोत्तर पढ्ने रहर अहिले पूरा भएको छ । नौ कक्षा पढ्दापढ्दै विवाह भएकी सुशीलालाई घर र माइतीपक्षको सहयोग हुँदा यसै क्याम्पसमा स्नातक पढ्न समस्या भएन । तर घरपरिवारले आर्थिक अवस्था र असुरक्षाको कारण देखाउँदै स्नातकोत्तर पढ्न बाहिर जान नसक्ने बताएपछि मन कुँड्याएर बस्नु परेको पछिल्ला छ वर्ष सम्झँदै सुशीलाले अहिले पढ्न पाएकामा खुशी व्यक्त गरे ।

भक्तपुर माइती भएकी कृष्णमाया बिखुञ्छे ९मण्डल० पनि बर्दिवास–८ हाथीलेटमा विवाह भएर आएपछि घरबाटै अहिले स्नातकोत्तर पढ्न क्याम्पस पढ्न पाएकामा दङ्ग छन् । “भर्खर एसएलसी गर्दै विवाह गरियो, त्यो पनि मधेशका मण्डलसँग बिहे गरेपछि अगाडि पढ्न पाइन्न कि भन्ने लागेको थियो,” कृष्णमायाले भनीन्, “तर पति, सासू, ससुरा सबैले वातावरण मिलाइदिँदा घरबाटै आएर यसै क्याम्पसमा स्नातक सके, अहिले केही वर्षपछि स्नातकोत्तरतहको अध्ययन पनि गर्न पाइयो ।”

यसपालि त्रिभुवन विश्वविद्यालयको स्वीकृतिबाट स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरिएपछि स्नातक सकेर बसेका बुहारीका लागि घरपायक नै यस तहको अध्ययनको अवसर जुटेको हो । क्याम्पसमा अहिले स्नातकोत्तर तहमा अध्ययनरत १७ छात्रामध्ये १२ विबाहित नै रहेका क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले बताए। भर्खरै यसै चैत महीनाको प्रारम्भसँगै शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन शुरु भएपछि उच्च शिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिवास र वरपरका छोरी÷बुहारीले पढ्ने अवसर पाएका हुन् ।

तराइमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही ‘लोहार, डकर्मी पेशाका तराइको जातिविशेष’ जाति परिवारकी महोत्तरीकै औरही–८ टिम्कीयाकी सुनिता ठाकुर स्नातकोत्तर पढ्न पाउँदा खुसी भइन् । सुनिताले भनीन “अब मेरो चिन्ता हट्यो, ढुक्क भएर पढ्न लागेकी छु ।” घरको अत्यन्त कमजोर आर्थिक अवस्था भएकाले कक्षा–११ देखि नै आफैँले ट्युसन पढाएर रकम जोहो गर्दै अध्ययन गर्नुपरेको सुनिताको भनाइ छ ।

धनुषाको मिथिला नगरपालिका–१ की सङ्गीता महतोले पनि घर नजीकको क्याम्पसमा स्नातकोत्तर तह शुरु भएपछि पढ्न पाइएको बताइन् । “घरबाटै आउन जान पाइएपछि पढाइ शुरु गर्न पाएँ,” सङ्गीताले भनीन् “घरको अवस्थाले म बाहिर बसेर पढ्ने अवस्था त थियो, तर छोरीलाई बाहिर राख्ने कुरामा अभिभावक हाम्रो समाजमा त्यति सजिलै तयार हुँदैनन्, मेरा पनि भएनन् ।”

विसं २०६४ मा स्थापित बर्दिवास जनता बहुमुखी क्याम्पसमा यसअघि पनि घरबाटै पढ्न सक्ने वातावरण पाएर छोरी/बुहारीले स्नातकतहसम्मको अध्ययन गर्न पाएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्काले बताइन् । अहिले स्नातक तहमा ५९८ र स्नातकोत्तर तहमा ३४ गरी ६३२ छात्रछात्रा रहेका छन् । कूल विद्यार्थी सङ्ख्यामा ५५ प्रतिशत छात्रा रहेका क्याम्पस प्रशासनले जनाएको छ ।