प्रदेश 2

मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट

बर्दिवास । महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो ।

चुरे पहाडी शृङ्खलाका खोल्सीबाट पाइप ओछ्याएर ल्याइएको धाराबाट पानी झर्न छाडेपछि बर्दिवास–५ गणन्ता बस्तीमा खानेपानीको सङ्कट बढेको छ । जम्मा २२० घरपरिवारको बसोबास भएको सो बस्तीमा अहिले साइकलमा गाग्री झुण्ड्याएर टाढाबाट खानेपानी ल्याएर गर्जो टार्नुपरेको त्यहीँकै बासिन्दा वडा सदस्य रमेश कार्कीले बताए ।

त्यसैगरी खानेपानीको स्रोत इनार मात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने बिजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको त्यहाँका बासिन्दा होमबहादुर श्रेष्ठ बताउँछन् । बर्दिवासकै किसाननगर, बिजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा चिन्ता बढेको छ ।

यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिँया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैतको दोस्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो ।
यसपालि हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेका र स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ ।