राजनीति

विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्छौं: सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो भन्दै तर आफूले केही नगर्ने र अनुशासन समितिले यस सम्बन्धी हेर्ने बताए ।

उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका टिप्पणी नगर्ने प्रष्ट पारे । उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे ।

उनले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न पाइँदैन भने । उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताए ।

सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए । वर्तमान समयमा नेका एकजुट रहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे ।