बाग्मती

सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन सञ्चालकलाई आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बचत तथा ऋण सहकारीभन्दा अन्य सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन सञ्चालकलाई आग्रह गरेको छ । बुधबार यहाँ आयोजना गरिएको ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कामपाको सहकारी विभागले बचत सहकारीको सङ्ख्या आवश्यकताभन्दा धेरै भइसकेको भन्दै श्रमिकको हकहितका लागि सहकारी सञ्चालन गर्न आवश्यक रहेको जनाएको हो ।

कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । कार्यक्रममा कामपा उपप्रमुख हरिप्रभा खड्गीले असल काम गर्नेको प्रशंसा र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन विभाग लागि पर्न आवश्यक रहेको बताए ।

कामपामा हाल एक हजार ८५६ सहकारी रहेको जानकारी गराउँदै विभागका प्रमुख नमराज ढकालले विद्युतीय प्रणालीमा आधारित ‘कोपोमिस’ कार्यान्वयनमा ल्याइसकेको जानकारी गराए । ढकालले भने, “५५० सहकारीले पासवर्ड लिइसकेको छन् । यस प्रणालीबाट उनीहरुले महानगरलाई विवरण तथा प्रतिवेदन बुझाउन तथा महानगरसँग सोझै आफ्ना समस्या तथा सम्भावना पेश गर्न सक्नेछन् ।”

विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानूनी व्यवस्था भएअनुरुप कामपाले सहकारीको नियमन र अनुगमन शुरु गरेको हो । कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ ।

युरोपमा औद्योगिक क्रान्ति र पूँजीवादी अर्थव्यवस्थाबाट सिर्जित बेरोजगारी र शोषणमा परेका श्रमिकको उत्थानका लागि नयाँ आर्थिक विकासको प्रारुपको रुपमा सहकारीको अवधारणा आएको हो । पहिलोपटक सन् १८३० मा ६० कपडा कारखानाका मजदुर सामेल भई रोचडेल फ्रेन्डली को–अपरेटिभ सोसाइटीको गठन भएको थियो । सन् १८३३ मा सहकारीका जनक रवर्ट ओवेनले बेलायतमा हजारौँ मजदुर, गरीब किसान र बेरोजगार जनसमुदायको भेला आयोजना गरी सहकारीको अवधारणा प्रस्तुत गरेका थिए ।