खेलकुद

स्वर्णधारी अजितको गृहनगरमा स्वागत

सप्तरी। तेस्रो एशियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता अजितकुमार यादव गृहनगर राजविराजमा बुधबार सम्मानित भएका छन् ।

राजविराज नगरपालिकाले नगद रु एक लाख एक हजारसहित यादवलाई सम्मान गरेको हो । नगरप्रमुख शम्भुप्रसाद यादवले स्वर्णधारी यादवलाई नगरपालिकाको तर्फबाट रु एक लाख एक हजार हस्तान्तरण गर्नुका साथै आफ्नो मासिक तलब बराबरको रु ३५ हजारसमेत प्रदान गरे । यसैगरी नगरपालिका–१२ का वडाध्यक्ष हरिहर यादवले रु १५ हजार र छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले रु पाँच हजार १०० प्रदान गरे । तिलाठी कोइलाडी गाउँपालिकाले नगद रु ५१ हजार तथा जन्मस्थान रहेको नगरपालिका–१३ ले रु १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

स्वर्णधारी अजितलाई स्वागत तथा सम्मान गर्न नगरवासी ठूलो सङ्ख्यामा भेला भएका थिए । नगरपालिका कार्यालयले मालाले सजिएको गाडीमा अजित सहित उनका परिवारलाई राखेर बाजा–गाजा सहित नगर परिक्रमा गरेको छ । स्वर्णधारी अजितले यस्तो सम्मानले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिल्ने बताउनुभयो । अवसरमा पाएमा नेपालका कुनाकुनामा रहेका धेरै प्रतिभाले देशको नाम चम्काउन सक्ने भन्दै उनले नेपालमा अन्तर्राष्ट्रिय रङ्गशाला बनेमा उत्कृष्ट खेलाडी उत्पादन हुने बताए ।

एशियालीस्तरमा एथलेटिक्समा नेपाललाई स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी हुन् । यादवले हालै हङकङमा सम्पन्न तीन हजार मिटरको दौडमा पहिलो स्थान हात पारेका थिए ।