प्रदेश 2

एक महीनादेखि मृत्युसँग लड्दै बेवारिसे महिला

सप्तरी । हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिला साढे एक महीनादेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी छिन् । नाम, ठेगाना, उमेर नखुलेकी ती महिलाको परिवार फेला नपर्दा उपचार र स्याहारको अभावमा एक महीना १२ दिनदेखि मृत्युसँग सङ्घर्ष गरिरहेकी छिन् ।

घाइते बिरामीको पहिचान हुन नसकेकाले उपचार र स्याहारमा समस्या परेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले भने, “हात्तीको आक्रमणले घाइते महिलाको उपचार डिभिजन वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षले गर्नुपर्छ ।” प्रनाउ रिमालका अनुसार हात्तीको आक्रमणमा परी घाइते महिलालाई अग्नीसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको हो तर, उनको रेखदेख गर्ने कोही छैन ।

वन ऐनको ७१ ख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको ३ घ मा राष्ट्रिय निकुञ्ज तथा आरक्षभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिबापत तोकिएबमोजिम राहत दिइनेछ भनी उल्लेख छ तर वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय यसबारे अनभिज्ञ छन् ।

आफूलाई यसबारे प्रहरीले कुनै जानकारी नगराएकोमा आश्चर्य प्रकट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उनको बारेमा प्रचारप्रसार गरी परिवारको खोजी गरी पुनःस्थापनाको प्रयास गरिने बताए । घाइते बिरामी महिलाको आफन्त पत्ता लाग्न नसके उद्धार र उपचारको अन्य विकल्प खोज्नुपर्ने उनले बताए ।

डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख धीरेन्द्रप्रसाद सिंहले वन कार्यालय र प्रहरीको उद्धारमा अस्पताल भर्ना भएकी महिला सञ्चो भएर घर फर्किसकेको बताएका थिए । तर बिरामीको घरपरिवार नै पत्ता नलागेको र भाँचिएको हातसमेत आर्थिक अभावमा नजोडिएको बताएपछि सिंहले कुरा फेर्दे भने, “बिरामी करीब ठीक भइसकेको थियो, बिरामी अवस्थामै रहेछ भने औषधोपचारको खर्च तत्कालै उपलब्ध गराउनेछौँ ।” उनले थपे, “वन कार्यालयले बिरामीको पूरै निगरानी राख्न सक्दैन, कुरुवा पनि राख्न सक्दैन तर औषधोपचारको खर्च व्यहोछ ।”

अस्पतालले भने घाइते बेवारिसे महिलालाई प्रहरीले अस्पतालमा ल्याएर छाडेपछि कोही पनि फर्केर नआएको र औषधोपचारमा कसैले पनि सहयोग नगरेकाले भाँचिएको हातमा स्टिल लगाउन नसकेको जनाएको छ । बिरामीको प्राथमिक उपचार गरिए पनि भाँचिएको हात जोड्न लगाउनु पर्ने स्टिलको खर्च कतैबाट उपलब्ध नभएको आकस्मिक विभागका इञ्चार्ज धनेश्वर साहले बताए ।

सामान्य प्लाष्टर हटाएर एक्सरे गर्दा हात नजोडिएको देखिएकाले स्टिल नै लगाउनु पर्ने र त्यस्का लागि करीब १० हजार लाग्ने उनले जानकारी दिए । बिरामीको थप उपचारको आवश्यक्ता रहे पनि बाहिर पठाउन नसकिएको भन्दैँ अस्पतालकी सिनियर स्टाफ नर्स लक्ष्मी चौधरीले सरसफाइ र खानाको कमीले बिरामी कमजोर बन्दै गएको बताए ।

दाहिने हात भाँचिएकी घाइते महिलाको छाती, तिघ्रामा समेत चोट लागेको छ । केही बताउन नसक्ने उनी हिंडडुल गर्न पनि सक्दिनन् । छेउका अन्य बिरामी हेर्न आउनेले दया गरी दिएको बिस्कुट, फलफूल पाए खान्छिन् नभए भोकै, प्यासै सुत्छिन् । दिसापिसाब आएको पनि चाल नपाउने उनको खुट्टामा उनकै दिसा कटकटिएर सुकेको छ । साढे एक महीनादेखि एउटै लुगामा रहेकी उनको कम्मरबाट खुस्किएको पेटिकोट झरेकाले उनको लाज छोपी दिन अन्य बिरामीका कुरुवाले माथिबाट तन्नाले ढाकी दिने गर्छन् । उनलाई शौचालयको छेउ एकान्तमा चिसो भुइँमा सुताइएको छ ।

बेवारिसे बिरामीलाई ल्याउने प्रहरीले घरठेगाना पत्ता लगाउन भने ध्यान नदिने गरेको अस्पतालका कर्मचारीको गुनासो छ । अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी ‘फोकल पर्सन’ मनिषा सिम्खडाले अस्पताल ल्याइदिएर मात्र प्रहरीको जिम्मेवारी पुरा नहुने बताए । घाइते बिरामीको नाम, ठेगाना पत्ता नलाग्दा कुनै पनि स्थानीय निकायले अभिभावकत्व ग्रहण नगर्ने भएकाले पुनःस्थापना केन्द्र पठाउन पनि नसकिएको उनले बताए ।

अस्पतालले प्राथमिक उपचार गरिरहे पनि थप उपचार, सरसफाइ उचित खानपिनको व्यवस्था हुन नसक्दा उनी जीवनमरणको सङ्घर्षमा छटपटाइ रहेकी छिन् । नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक, धारा ३६ ले खाद्यसम्बन्धी हक र धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरे पनि आर्थिकरूपले विपन्न, अशक्त, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अपाङ्गता भएकी असहाय महिलाले कानूनबमोजिम कुनै पनि अधिकार उपभोग गर्न पाएकी छैनन् । सम्बन्धित निकाय, स्थानीय प्रतिनिधि, प्रशासन र राज्यसमेत बेखबर छन् ।