बाग्मती

नगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गर्‍यो

हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाको चौथो नगरसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आयमा वृद्धि भएको पाइएको हो ।

उक्त वृद्धिदरलाई आधार मान्दा चालू आर्थिक वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाले आन्तरिक आयमा गत वर्षको सङ्कलनमा रु १० करोड थप गर्ने देखिएको छ । उपमहानगरले चालू आर्थिक वर्षको हालसम्म रु २२ करोड ६० लाख आम्दानी गर्न सफल भएको छ । आन्तरिक आयमा रु १० करोडले वृद्धि हुने अनुमान गरिएको उपप्रमुख मीना लामाले जानकारी दिईन् । उनका अनुसार आन्तरिक आयमा वृद्धिसँगै नगरको साविक बजेटमा वृद्धि भएर रु एक अर्ब ७७ करोड पुगेको छ । चालू वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाको आम्दानी रु एक अर्ब ८७ करोड हुने अनुमान गरिएको उपप्रमुख लामाले बताईन् ।

उक्त रकम चालू आवमा स्वीकृत भएको रकमभन्दा १५ प्रतिशत अर्थात् रु २४ करोड ६२ लाखले बढी हो । नदीजन्य पदार्थ, विज्ञापनकर, पूर्वाधार मर्मतसम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी करलगायतका क्षेत्रबाट बढी राजश्व सङ्कलन भएको छ । चालू आवको हालसम्म भौतिक पूर्वाधारका ३८९ योजना सम्झौता भएर सञ्चालनमा आएका छन् । ती मध्ये २०५ योजना सम्पन्न भइसकेका छन् भने १८४ योजना निर्माणाधीन अवस्थामा रहेको उपप्रमुख लामाको भनाइ छ ।