समाचार

कडा प्रतिष्पर्धाबीचको मतगणनामा अध्यक्षकाप्रत्यासी नेकपा निकट श्रेष्ठले एकाएक लिए अग्रता

काठमाडौँ । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको अग्रता रहेको छ ।

बुधबार राति ९ः३० सम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई हजार ४४५ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मतले पछ्याइरहेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

त्यसैगरी, महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले दुई हजार ४५४ मत प्राप्त गरेका छन् भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गरेका छन् । कूल मतमा अब दुई हजार ५८४ मत गणना गर्न बाँकी छ । त्यो बिहीबार बिहान ९ बजेदेखि गणना हुनेछ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।
आज ९.०० बजेपछि पुनः मतगणना सुचारु हुने जनाईएको छ ।