समाचार

ट्राफिक प्रहरी नै यसरी धुलोले आक्रान्त छन् सर्बसाधारणको के हालत होला !

साँखु । निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडको यो दयनीय अवस्थाका कारण सर्वसाधण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् ।

बिहान उज्यालो भएदेखि सडकमा बसेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिटी फुक्ने ट्राफिक प्रहरीको दिनचर्या नै हो । त्यहीँमाथि सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरी पनि आजित भएका छन् । बौद्धको सडकको ‘ड्युटी’मा खटिरहेका प्रहरी जवान समीर दाहालको शरीरका कुनै अङ्गले फुर्सद पाएको देखिँदैन । यताउता दौडिँदै हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै हिँडिरहेको उनी व्यस्त देखिन्थे ।

सिटी फुक्दै अटेर गरेर बस्ने ठूला बसलाई धपाउँदैमा दाहाल चर्का स्वरमा जान आग्रह गर्थे तर कतिले अटेर गर्थे भने कति सजिलै बाटो लाग्थे । दाहाल भन्छन्, “सडक निर्माणका लागि ल्याएको गिट्टी सडकको बीच भागमा राखेकाले सवारी जाम हुने गरेको छ । जामलाई हटाउन सिटी बजाउनुपर्ने हुन्छ, हरेक पटक सिटी बजाउन ‘मास्क’ खोल्नुपर्दा धुलोधुवाँबाट समेत बच्न सकिँदैन ।”

दैनिक यसरी नै सडकमा धुवाँधुलो र गाडीका चालकलाई लाइनमा लगाउँदै बित्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । चाबहिल देखि साँखु सम्मको सडकखण्डमा जम्मा दुई ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५०० मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख हृदयेश सापकोटा भन्छन्, “बिहानदेखि बेलुकासम्म सडकमा हुन्छौँ । एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन । कराउँदाकराउँदै स्वर बस्छ, अझ धुलोबाट हुने रुघाखोकी, दम, एलर्जीलगायत फोक्सोसम्बन्धी रोगको प्रत्यक्ष समस्याबाट दिनानुदिन गुज्रिनुपरेको छ ।”

सापकोटाका अनुसार बौद्ध मातहतमा ४२ ट्राफिक प्रहरी कार्यरत छन् । कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलोको मुख्य मारमा परेका छन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन । सडको छिटो काम सकिए पनि ठूलो समस्याबाट मुक्ति मिल्ने बौद्धका ट्राफिक प्रहरी चतेन्द्रराज श्रेष्ठ बताउँछन् । अहिले जोरपाटीको ओरालोमा त १० मिनेट पनि बस्न सक्ने अवस्था नभएको उनले सुनाए ।

विसं २०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्छन्, “मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलोे सजिलै मुखभित्र छिर्छ ।” समयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उनको भनाइ छ ।

धुवाँ र धुलोबाट आक्रान्त भएका ट्राफिक प्रहरी दिनरात नभनी २० घण्टा ड्युटी गर्ने गर्दछन् । कराउँदा घाँटी दुख्ने र स्वर पनि सुक्ने गरेको छ । धुलोका कारण सबैभन्दा बढी बिरामी हुने गरेको ट्राफिक प्रहरी हवल्दार बालकृष्ण पन्त बताउँछन् । दैनिक बिहान बेलुकाको धुलोमा गर्नुपरेको ड्युटीले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोका कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

बन्दै गरेको सडकको बीच भागमै निर्माण साम्रगी राख्नाले पनि सवारी साधनलाई निरन्तर ‘पास’ गराउन समस्या हुन्छ । “ठेकेदारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएँ तर उनीहरु सुने नसुनेझैँ गर्छन्”, बौद्धका ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने, “धुलो, धुवाँ र हिलो खाँदै सडकमा काम गरिरहेका छौँ ।” सरकारले ट्राफिकलाई वर्षमा दुई जोर कपडा दिन्छ । सरकारले दिएको कपडा छ महीना टिक्दैन भने एकजोर बुट बढीमा तीन महीना नखप्ने ट्राफिक प्रहरीको गुनासो छ ।

सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।