प्रदेश 1

स्थानीय तहबाट हुवाहुरी पीडितलाई २३ लाख राहत प्रदान गर्ने निर्णय

भद्रपुर । झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम रु दुई–दुई लाख, गाउँपालिकाहरुबाट रु एक–एक लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो । झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।

स्थानीय तहबाट सङ्कलित रु २३ लाख र स्थानीय सङ्घसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने प्रजिअ दाहालले जानकारी दिए । बैठकमा स्थानीय तहका प्रमुखहरुले सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने बताए ।

प्रजिअ दाहालले प्राकृतिक प्रकोपमा परेका बाराबासीलाई सहयोग गर्न जिल्लाका सबै सङ्घसंस्थाहरुलाई समेत सहयोगका लागि आह्वान गरेका छन् । बुधबार नै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले रु एक लाख २७ हजार २०० बारा रेडक्रस सोसाइटीको राष्ट्रिय वाणिज्य सङ्घमा रहेको खातामा जम्मा गरिदिएको सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।