बाग्मती

१७ हजार घुस लिएको आरोपमा प्रहरी जवान अख्तियारको जिम्मामा

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले घुस लिएको आरोपमा प्रहरी जवान गणेश लोहारलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।

महानगरीय दङ्गा नियन्त्रण गण त्रिपुरेश्वरमा दरबन्दी भई वैदेशिक रोजगार विभाग कार्यालय, ताहचलमा खटिएका लोहारले साउदी अरेबियाका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग रु १७ हजार घुस लिएका थिए । सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई महानगरीय प्रहरीवृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । लोहारलाई आवश्यक कारवाहीका लागि आयोगमा पठाइएको र उनीमाथि अनुसन्धान शुरु गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।