राजनीति

सभापति देउवाको कार्यकर्तालाई निर्देशनः काङ्ग्रेस जनताको पार्टी हो, गाउँ-गाउँमा पुगेर सुख-दुःखमा साथ दिनुस्

दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई जनतामाझ जान आह्वान गरेका छन् ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आज लमहीमा आयोजना गरेको क्षेत्रीय सभामा उनले काङ्ग्रेस जनताको पार्टी भएकाले गाउँ–गाउँमा पुगेर जनताको सुख–दुःखमा साथ दिन आग्रह गरे । सभापति देउवाले मुलुकमा दिनदिनै आपराधिक घटनामा वृद्धि भइरहेको अवस्थामा सरकारले अभियुक्तलाई समेत कारवाही गर्न नसक्नु दुःखद भएको बताए । यसअघि आज बिहान भएको पत्रकार भेटघाटमा सभापति देउवाले प्रतिपक्षको भूमिका कमजोर नभएको बताए ।

“हामीले सरकारको खुलेरै आलोचना गरिरहेका छौँ”, उनले भने, “ आफूले नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गरेपछि पार्टीभित्रै मेरो बिरोध भईरहेको छ, यसले पार्टीलाई अलि कमजोर बनाएको छ ।” उनले जनमत सङ्ग्रहको नाममा देश टुक्र्याउन नपाइने बताए । सरकारले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्नेमा जोड दिए । उनले फरक प्रसङ्गमा दाङमा पूर्वाधारको अभाव भएकाले प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताए ।

“स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै छ, उसैले अब सबै हिसाबले उपयुक्त ठाउँमा स्थायी राजधानी तोक्छ”, सभापति देउवाले भने । उनले काङ्ग्रेस महाधिवेशनपछि सङ्घीय संरचनामा जाने बताए ।

कार्यक्रममा काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काङ्ग्रेसले गरेका विकास निर्माणका कामलाई जनतामाझ लैजान नसकिएको भन्दै जनतामाझ पुग्न आम नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।