समाचार

चट्याङले दुईको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङमा परी सङ्खुवासभाको पाँचखपन नगरपालिका– ९ मन्दिकाटारकी सीता विश्वकर्मा र सुकुमाया लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो २ः३० बजे घरमा बसिरहेका बेला नजिकैको विद्युत्को खम्बामा चट्याङ परेको थियो । चट्याङको झड्काले उनीहरू बेहोस् भएका थिए । उनीहरूलाई उपचार गराउन लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख मिङ्मा शेर्पाका अनुसार घरमा काम गरिरहेको बेला अकस्मात चट्याङ पर्दा दुई महिलाको मुत्यु भएको हो । मृतकको शव आफन्तलाई जिम्मा लगाई मङ्गलबार साँझ जातीय परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।