समाचार

सरकारले सिंहदरबारका अधिकार गाउँगाउँमा पुर्याउने अभियान शुरु गरिसक्योः गृहमन्त्री थापा

भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले देश विकास र समृद्धिको दिशामा अगाडि बढेको बताए । चाँगुनारायण नगरपालिकाले आज दुवाकोटमा आयोजना गरेको एकिकृत घुम्ती शिविरको उद्घाटन कार्यक्रममा उनले सरकार तीब्र गतिमा देशको विकास कसरी गर्न सकिन्छ भनेर लागि परेको बताए ।

गृहमन्त्री थापाले भने “सरकार देशलाई तीब्र गतिमा विकासलाई अगाडि बढाउन पञ्च वर्षीय योजना बनाउन लागि परेको छ, अबको पाँच वर्षमा देशको विकासलाई कसरी धेरैभन्दा धेरै उचाईमा लैजान सकिन्छ, अबको २५ वर्षमा देशलाई कस्तो बनाउन सकिन्छ भनेर लागि परेको छ । ”यसका लागि एकीकृत प्रयास आवश्यक रहेको औँल्याउँदै उनले नेपालको गौरबलाई स्थापित गर्न र विकासलाई तीब्र गतिमा लैजान शान्ति, सुशासन र स्थायित्व आवश्यक भएको भनाइ राखे । देशको तीनवटै तहको सरकारले सिंहदरबारका अधिकार गाउँगाउँमा पुर्याउने अभियान शुरु गरेको चर्चा गर्दै उनले यसको नमूना आजको शिविर भएकाले यसप्रकारको कार्यक्रमलाई नियमित र अन्य स्थानीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताए ।

उनले चाँगुनारायण इन्जिनीयरिङ कलेजको अनियमिततालाई नियन्त्रण गर्न र कलेजलाई सामुदायिक रुपमा सञ्चालन गर्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा सरकारको शून्य लगानीमा हनुमन्ते सफाइ अभियान शुरु भएको बताउँदै जनताको सेवा गाउँगाउँमा पुर्याउन पनि भक्तपुरले अभियान सञ्चालन गरेको बताए।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र लगायतले घुम्ती शिविरले जनतालाई गाउँ गाउँमा सिंहदरबार पुगेको अनुभूति भएको बताए।

एकीकृत वृहत घुम्ती शिविरमा यस नगरपालिकाको–१ देखि ९ सम्मका १० हजारभन्दा बढी नागरिकले विभिन्न सेवाहरु लिएका छन् । २४ जना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखा रोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि रोग, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको नगरप्रमुख मिश्रले जानकारी दिए।

शिविरमा नागरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र लगायतका सेवा प्रवाह गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सेनाले जानकारी दिए ।

शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट विरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्वारा ज्येष्ठ नागरिक, भूकम्प पीडित, स्वास्थ्य स्वयंसेविका, अपाङ, एकल महिला, दलित, विद्यार्थी, भूकम्प पीडितलाई निःशुल्क सिमकार्ड वितरण, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पीडितको गुनासो व्यवस्थापन लगायतका सेवा प्रदान गरिएको छ ।

पशुसेवातर्फ नाम्ले र जुकाँको औषधि वितरण, गोबर परीक्षण, पशु स्वास्थ्य शिविर एवं परीक्षण, पुश बीमा एवं पुश व्यवसायसम्बन्धी जानकारी, कृषितर्फ माटो परीक्षण, खाद्य परीक्षण, बीउबिजन वितरण गरिएको प्रशासकीय अधिकृत तिम्सेनाले बताए ।

वृहत सिकाइ शिविरतर्फ विपद् जोसखम न्यूनीकरण, सहकारी सेवासम्बन्धी जानकारी, नगरपालिकाले प्रदान गर्ने सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्रदान गर्ने सिकाइ सेवा, सहकारी एवं स्थानीय उत्पादन सामग्रीहरुको प्रर्दशनी भएको थियो भने सबै सरकारी सेवा प्रदायक निकायको सार्वजनिक सुनुवाईसमेत गरिएको छ ।