पर्यटन/संस्कृति

निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई प्लाष्टिक लैजानमा कडाइ गरेसँगै होटलहरुले टिफिन बक्स ‘भाँडोमा खाजा’ पठाउन थालेका छन् । निकुञ्जले गत माघ १८ गतेदेखि निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेका प्लाष्टिक फिर्ता ल्याउनैपर्ने नियम लागू गरेको छ ।

निकुञ्ज प्रवेशद्वारमा पर्यटकले लगेका प्लाष्टिकको तथ्याङ्क राख्ने गरिन्छ । फर्किँदा लगेका प्लाष्टिक फिर्ता आए नआएको परीक्षण गर्ने गरिएको छ । प्लाष्टिक फिर्ता नल्याएमा कारवाही गर्ने व्यवस्था छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले पर्यटकलाई प्लाष्टिक लैजादा झण्झटिलो हुने भएकाले खाजाखाना टिफिन बक्समा राखेर पठाउने प्रचलन शुरु गरेको बताए । उनका अनुसार पर्यटकको माग अनुसारका खाना बनाएर टिफिनमा पठाउने गरिएको छ । पर्यटकले पनि सुरक्षा जाँचको झमेला व्यहोर्नु नपर्ने उनले बताए ।

सबै होटल व्यवसायीले आफ्ना पाहुनालाई टिफिन बक्सको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सबैको साथ र सहयोगबाट निकुञ्ज क्षेत्रमा हुने प्रदूषण कम गर्न सकिने बताए । होटल व्यवसायीले चाहेमा निकुञ्जको फोहर निकै कम गर्न सकिनेमा उनले जोड दिए ।

निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेको प्लाष्टिकको झोला सुरक्षा पोष्टमा राख्ने गर्दछन् । त्यसको सट्टामा कपडाको झोला दिने गरिन्छ । लैजानैपर्ने प्लाष्टिक भने तथ्याङ्क लिएर पठाइने गरिन्छ । ‘प्लाष्टिक नाई भन्नु ल १’ भन्ने अभियानका साथ प्लाष्टिक निषेध अभियान शुरु गरिएको हो ।
विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ । यो पाँच जिल्लामा पर्दछ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो ।

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन् ।