राजनीति

काङ्ग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने सभापतिहरुको माग

काठमाडौँ । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ ।

आजदेखि यहाँ शुरु भएको दुई दिने भेलामा हावाहुरीबाट प्रभावित बस्तीमा जिल्ला सभापतिका तर्फबाट गर्ने सहयोग र राहतका विषयमा छलफल भएको रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिए । आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट दुई दर्जन बढी व्यक्तिको निधन भएको थियो भने सयौँ घाइते भएका थिए ।

खासगरी नेतृत्वलाई आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले भेला आयोजना गरिएको हो । भेलामा मुख्यरुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय उठेको उनले बताए ।

भेलामा तीन दर्जन बढी जिल्ला सभापतिको उपस्थिति रहेको बताइएको छ । यद्यपि संस्थापन पक्षका जिल्ला सभापतिको भने उपस्थिति नभएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । उनले जिल्ला सभापतिको कुनै औपचारिक भेला तथा कार्यक्रम नभएको समेत स्पष्ट पारे ।

भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेला सम्पन्न भएपछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी गरिएको छ । काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय नभएको जिल्ला सभापतिको आरोप छ ।

काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो । उक्त भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले भने कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।