अन्तर्राष्ट्रिय

मलेसियाका पूर्व प्रधानमन्त्री विरुद्धको सुनुवाई अर्को साता

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक विरुद्ध भ्रष्टाचारको मुद्दामाथि अर्को साता अदालतमा सुनुवाई हुने भएको छ । उनी विरुद्ध अदालतमा ठूलो वित्तीय अपराधसम्बन्धी मुद्दा विचाराधीन छ ।

रजाकमाथि मलेसियाको वान–एमडीबी कोषबाट जथाभावी रकम लिएको आरोप छ । रजाकको राजनीतिक जीवनमै सङ्कट निम्त्याएको यस कोषबाट उनले अर्बौं डलर दुरुपयोग गरेको पाइएको सरकारको भनाई छ । रजाकमाथि लागेका आरोप सम्बन्धमा अदालतमा सुनुवाई नभएको भन्दै सरकारको आलोचना पनि हुन थालेको थियो । तर सरकारी अभियोजनकर्ताले बुधबारदेखि नै मुद्दाको सुनुवाई हुने जनाएका छन् ।

गत वर्ष मे महिनामा सम्पन्न चुनावमा यही भ्रष्टाचार काण्डका कारण नजिबको गठबन्धन नराम्रोसँग पराजित भएको थियो । चुनावमा पराजित भएसँगै नजिबमाथि सत्ता र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोपमा दर्जनौं मुद्दा दायर गरिएका छन् । तर नजिबले सरकारले लगाएका सबै आरोपको खण्डन गरेका छन् ।

अर्को साता नजिबमाथि एसआरसी इन्टरनेसनलबाट करिब एक करोड ३ लाख डलर लिएको आरोप सम्बन्धमा सुनुवाई हुनेछ ।