खेलकुद

दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताए ।

ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरुआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल म्यान्मासँग पराजित भएको थियो ।

फिफा बरियतामा नेपाल १०३ स्थानमा छ । म्यानमार ४४ स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ । म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।