खेलकुद

रङ्गशालामा ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु

लमही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ ।

चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । उनका अनुसार १८० मिटर लम्बाइ र १२० मिटर चौडाइमा सिन्थेटिक ट्र्याक निर्माण गरिने भएको हो ।

आठौँ राष्ट्रिय खेलकूदको समय नजिकिँदै गर्दा उक्त खेलकूद मैदान निर्माणको कामलाई तीव्रता दिइएको छ । महिला फुटबल र एथलेटिक्स खेल हुने उक्त रङ्गशालामा अब एथलेटिक्सको खेल मैदान निर्माणको काम बाँकी रहेको अध्यक्ष डाँगीले बताए ।

“बेलझुण्डी रङ्गशालामा एथलेटिक्स र फुटबल खेल हुनेछन्”, उनले भने, “फुटबल खेल मैदानको काम पूरा भइसकेको छ, अब एथलेटिक्स खेल मैदानमा सिन्थेटिक ट्र्याक निर्माण शुरु भएको छ ।” रु २४ करोड २५ लाखमा छ बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भइरहेको छ । अहिले फुटबल र एथलेटिक्स खेल्न मिल्ने गरी मात्रै काम पूरा हुने र राष्ट्रिय खेल सकिएपछि बाँकी काम पूरा गरिने उनको भनाइ छ ।

अध्यक्ष डाँगीका अनुसार दाङको लमही क्रिकेट मैदान र तुलसीपुरको कराँते खेल स्थलसहित बेलझुण्डी रङ्गशालाको सबै काम यही चैत ३० गतेभित्रै सक्ने गरी तयारी थालिएको छ । प्रदेश नं ५ मा हुने राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा विभिन्न सात खेल हुँदैछन् ।