अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सि ‘राजा’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको खुलासा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपीङलाई ‘राजा’ भनेर सम्बोधन गरेको खुलासा गरेका छन् । आफूले राजाभन्दा राष्ट्रपति सीले मनपराएको पनि ट्रम्पले दाबी गरे ।

मंगलबार वासिङटनमा आयोजित नेसनल रिपब्लिकन कंग्रेसनल कमिटीको स्प्रीङ डिनरलाई सम्बोधन गर्दै ट्रम्पले ‘राजा’ भनेर सम्बोधन गर्दा सीले शुरुमा नकारेको तर आफूले त्यसैमा जोड दिएको बताए ।

‘उनले भने, तर, म राजा होइन, राष्ट्रपति हुँ । मैले भने, होइन, तपाईं जीवनभरका लागि राष्ट्रपति हुनुहुन्छ । त्यसैले तपाईं राजा हो,’ ट्रम्पले यसो भनिरहँदा त्यहाँ हाँसोको फोहरा छुटेको थियो । त्यसपछि उनले ‘हँ’ मात्र भने । उनले त्यसलाई मनपराए । उनीसँग सम्बन्ध राम्रो थियो ।’

ट्रम्पले सन् २०१७ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । त्यसको केही महिनाअघि मात्र चीनको नेसनल पपल्स कंग्रेसले राष्ट्रपतिको दुई कार्यकालसम्बन्धि प्रावधानलाई हटाएको थियो । यो सँगै सी आजीवन चीनको राष्ट्रप्रमुख बन्ने बाटो खुला भएको थियो । चीनले सन् १९१२ मा राजतन्त्रीय शासनलाई हटाएको थियो । क्वीङ वंशका राजा पु यीलाई हटाउँदै चीनमा गणतन्त्र स्थापना गरिएको थियो ।