प्रदेश 2

कर्मचारीप्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण

वीरगन्ज । वीरगन्ज (पर्सा) महानगरपालिकामा कार्यरत कर्मचारीहरुको वृद्धि विकास लगायतका विभिन्न माग राखी कर्मचारीहरुले चैत १७ गतेदेखि कामकाज ठप्प पारी आन्दोलनमा उत्रेकोप्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरपालिकाले सोमबार विज्ञप्ति जारी गरि कर्मचारीहरुको विषयहरुमा नेपाल नगरपालिका कर्मचारी एशोसियन र स्थानीय तह कर्मचारी संघ, नेपाल वीरगंज महानगरपालिकाका इकाइलाई ध्यानाकर्षण गराइ सकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महानगरपालिकाको मिति २०७५/०९/३० गतेको कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्ने विषय नीतिगत तथा कानुनी विषय भएकोले चैत १२ र १७ गतेको पत्रबाट संघिय ममिला तथा समान्य प्रशासन मन्त्रालयका सचिवलाई ध्यानाकार्षण गराइसकिएको महानगरपालिकाले जनाएको छ ।

यस सम्बन्धमा नगर प्रमुख लगायत सिंगो महानगरपालिका परिवार कर्मचारीहरुको मागप्रति सकारात्मक रही पटक पटक मन्त्रालयमा मौखिक रुपमा समेत जानकारी गराइएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मिति २०७५/१२/२० सम्ममा कर्मचारी समायोज विषयमा गुनासो निवेदन गरी सक्नु पर्ने व्यवस्था रहेको हुँदा गुनासो सुनावाई समितिमा गुनासो गर्न सकिने बताइएको छ ।

यति हुँदा हुँदै पनि यस कार्यालयका कर्मचारीहरु चैत १७ गते देखि कार्यालयको सेवाहरु ठप्प गरी हड्तालमा लाग्नु भएकोले सेवाग्राहीहरु मर्कामा परेकोमा यस कार्यलयको गम्भिर ध्यानाकर्षण भएको छ । चैत १७ गते आएको विनाशकारी हावा हुरीको कारण विपद् व्यबस्थापनमा हामी सबै लाग्नु पर्ने बाध्यता छ । यसर्थ तत्काल हड्तालका सम्पूर्ण कार्यक्रमहरु रद्द गरी गरी यथाशिघ्र जनतालाई सेवा प्रवाह गरी राष्ट्रसेवकको जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको छ ।