पत्रपत्रिका

वाइडबडीमा धमाधम बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइबडीका सम्बन्धमा धमाधाम बयान लिने काम भइरहेको जानकारी दिए।

‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ’, उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ।’

अख्तियारले सार्वजनिक सूचना जारी गरी आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको छ। उनीहरूलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन गरिएको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार नेपालभित्र ठेगाना पत्ता नलागेको वा सूचना बुझाउन नसकेको व्यक्तिलाई ३० दिनको म्याद दिई दुई पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने उल्लेख छ । ‘यो सूचना पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ सार्वजनिक सूचनामा उल्लेख छ। वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ ‘अनियमितता’ भएको संसद्को सार्वजनिक लेखासमितिको निष्कर्ष थियो।

दुई वाइडवडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा अख्तियारको कारबाहीका सम्बन्ध सांसदले प्रश्न गरेका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले वाइडवडी कारबाहीका सम्बन्धमा संसद्ले चासो राखेका हुन्। सांसद दिलेन्द्रप्रसाद बडूले अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न सोधेका थिए।

पूर्वप्रधानमन्त्रीको नाम आएपछि तैं चुप मै चुप भएको समेत सांसदले बताए। उनीहरूले सरकारले गठन गरेको उच्चस्तरीय समिति र अख्तियारबीच अन्तरसमन्वयका सम्बन्धमा चासो राखेका थिए।

एसईईमा अनुसन्धान गर्दै अख्तियार

प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिएका विषयमा अख्तियारले अनुसन्धान गर्ने भएको छ। प्रश्नपत्र आउट भएपछि प्रदेश २ को परीक्षा रद्द भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई सरकारले यसको अनुसन्धान जिम्मा दिइसकेको छ। तर अख्तियार पनि त्यसमा प्रवेश गर्ने प्रमुख आयुक्त घिमिरेले बताए। सांसद प्रेम सुवालले एसईईमा भएको गडबडीबारे छानबिन गर्न अख्तियारसँग माग गरेका थिए।

पाठकको मुद्दाले अख्तियारमै

सांसदहरूले घुसकाण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकका कारण अख्तियारप्रति प्रश्न उठेको बताएका छन्। सांसद महेश्वरजंग गहतराजले पाठकका कारण अख्तियारको बदनाम भएको धारणा राखे। ‘अख्तियारमै त्यस्तो हुन्छ भने जनताले कसरी विश्वास गर्ने रु ’ उनले भने, ‘अख्तियारमा बिचौलियाको राज हुँदो रहेछ।’

उनले अख्तियारबाट मुद्दा दायर भएपछि सिक्टा सिँचाइ आयोजना निर्माण रोकिएकोमा चिन्ता प्रकट गरेका छन्। सांसदले ३३ किलो सुनकाण्ड, एनसेल, टेलिकमको फोरजी, मेडिकल कलेजको अवैध असुली, सार्वजनिक जग्गा, पशुपतिको जग्गालगायत विषयमा भएका अनियमितता र भ्रष्टाचारका सम्बन्धमा अख्तियारको छानबिनबारे प्रश्न गरेका थिए। अख्तियारका प्रमुख आयुक्त घिमिरे, आयुक्तद्वय डा। गणेशराज जोशी र डा। सावित्रा थापा गुरुङले सांसदका प्रश्नको जवाफ दिएका थिए। …अन्नपूर्णबाट