पत्रपत्रिका

विपन्नमाथि नै विपत्तिः दुई हजार घरमा क्षति, एक हजार भत्किए, अधिकांश पीडित गरिब

बाराको फेटा गाउँपालिका–३ पुरैनियाटोलका २८ वर्षीय फैयाज आलमले चार लाख खर्चेर गत वर्ष मात्रै घर ठड्याएका थिए । ६ वर्ष कतारमा मजदुरी गरेको कमाइको उपलब्धि थियो, घर । तर, आइतबार मडारिएको हावाहुरीले क्षणभरमै उडाइदियो, घरमा रहेका खाद्य सामग्री, लत्ताकपडा र भाँडावर्तन सबै स्वाहा पारिदियो ।

मंगलबार दिउँसो ध्वस्त बस्तीनजिकै पालमुनि भेटिएका फैयाजले भग्नावशेषमा बदलिएको घरतिर नियाल्दै नयाँ पत्रिकासँग पीडा बिसाए, ‘खेत थोरै छ । कमाइले खान पुग्दैन । त्यसैले ६ वर्ष कतार बसें । थोरैथोरै जोगाउँदै जम्मा गरेको चार लाखले गत वर्ष घर बनाएँ । परिवारका सदस्यलाई केही महिनाअघि मात्रै नयाँ घरमा सारेको थिएँ । मन खोलेर बस्न नपाउँदै हुरीले जगसमेत नछोडी उडाइदियो । भएको अलिअलि अन्न र लत्ताकपडा पनि स्वाहा पारिदियो । अब के खाने, कहाँ बस्ने ठेगान छैन ।’ फैयाजको परिवारमा तीन सदस्य गम्भीर घाइते भएका छन्, आमा मोबिना खातुन, श्रीमती विस्मिता र बहिनी स्नेह ।

फेटा–६ पुरैनियाका वमिर रहमद देवान उमेरले ६० वर्षका भए । तर, उनको काँधमा २६ सदस्यीय संयुक्त परिवारको जीवन निर्वाह धान्ने जिम्मेवारी छ । खेती गर्ने जमिन नभए पनि खसी काट्दै मासु बेचेर निर्वाह चलाउँदै आएका उनले टाली (झिँगटी)ले छाएको घर पनि उभ्याएका थिए । तर, आइतबारको हुरीमा वमिरको घर पनि जोगिएन ।

‘आमा–बुबा, छोरा–बुहारी, छोरी सबै एकै ठाउँमा बस्छौँ । खेती गर्ने खेत छैन । हामी मासुको काम गर्छौँ । अलिअलि कमाइ हुन्छ । त्यहीँबाट जम्मा भएको पैसाले टालीको घर बनाएका थियौँ । हुरीले सबै उडायो,’ वमिरले भने, ‘अहिले हामी बेघरबार भएका छौँ ।’

आइतबार साँझको हावाहुरीको केन्द्र फेटाका फैयाज आलम र वमिर रहमद देवान पीडित प्रतिनिधि पात्र मात्रै हुन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी ५५ वर्षीय नजिबुल्ला अन्सारीले फेटाका ३ र ६ नम्बर वडामा उनीहरूजस्ता बेघरबार बनेका पाँच सयभन्दा धेरै छन् । अधिकांश मुस्लिम समुदायका छन् । खेती गर्न उनीहरूको न जमिन छ न गरिखाने कुनै गतिलो पेसा । कतिपयको त बाउबाजेकै पालामा बनाइएको घर थियो । त्यही पनि हुरीले उडाइदियो ।

‘हुरीबाट विस्थापितमध्ये अधिकांश मुस्लिम छन् । सबैको आर्थिक अवस्था कमजोर छ,’ नजिबुल्लाले भने, ‘जीवन गुजारा गर्न कोही गाउँमै मजदुरी गर्छन् । कोही काठमाडौं र पोखरा जान्छन् । त्यहीँबाट आएको पैसाले ओत लाग्ने घर बनाएका थिए । हुरीले उडाएपछि सबै बेघरबार बनेका छन् ।’

फेटा–१ र बाराकै जितपुर कलैया उपमहानगरपालिका–१८ भरवालियाका हावाहुरीपीडितको वास्तविकता पनि उस्तै मार्मिक छ । सीमा जोडिएका दुई वडामा पाँच सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । हुरीले घर उडाएर विस्थापित हुने अधिकांश दलित छन्, सबैको आर्थिक अवस्था दयनीय छ । थोरै–थोरै खेत छ, उब्जनीले ६ महिना पनि पेट पालिँदैन, विकल्पमा ज्याला–मजदुरी गर्छन् । तर, भग्नावशेष जगमा घर हाल्न सक्ने हैसियत छैन ।

राहत बाँड्दै गरेको अवस्थामा भेटिएका संघीय समाजवादी फोरम बाराका कार्यबाहक अध्यक्ष अजयकुमार पटेलले भने, ‘विशेषगरी फेटा–१, ३, ६ र ७ तथा कलैया–१८ हुरीबाट सघन रूपमा प्रभावित क्षेत्र हो । यहाँ मात्रै २७ सयभन्दा धेरै प्रभावित भएका छन् । अधिकांशको आर्थिक अवस्था कमजोर छ, दलित र मुसलमान धेरै छन् । उनीहरूसँग खेतीपाती गर्न पर्याप्त जमिन छैन । जीवन गुजारा गर्न ज्याला–मजदुरी गर्छन् ।’

गृह मन्त्रालयको रिपोर्ट स् दुई हजार घरमा क्षति, एक हजार भत्किए, अधिकांश पीडित गरिब
विनाशकारी हावाहुरीमा बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ ।

‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब ६० घरमा क्षति पुगेको छ,’ राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, ‘धेरै गरिब नै पीडित बनेका छन् । उनीहरूका कमजोर घर र टहरा उडाएको छ । धनीहरूका पक्की घर भएकाले असर कम छ ।’

मृतकको संख्या २८ पुग्यो
आइतबारको हावाहुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उपचारका क्रममा फेटा गाउँपालिका–६ का खयाग आलमको मंगलबार मृत्यु भएको हो । सोमबारसम्म २७ को मृत्यु भएको थियो ।

गृह मन्त्रालयका अनुसार अझै २ सय ४५ जनाको उपचार भइरहेको छ । २ सय ३३ को पर्सा, ३ को बारा र ९ को काठमाडौंमा उपचार भइरहेको छ । हावाहुरीमा करिब सात सय घाइते भएका थिए ।

यस्तै गृहले मृतकका परिवारलाई एक लाखका दरले राहत रकम बारा र पर्सा पठाइसकेको छ । प्राकृतिक विपत्मा मृत्यु भएकाको परिवारलाई सरकारले एक लाख दिने गरेको छ । घाइतेको उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय मंगलबार नै गरिसकेको छ ।

गृहले पीडित परिवारसम्म राहत पुगिसकेको दाबी गरेको छ । त्रिपाल र खाद्यान्न कतै अपुग नभएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खनालले बताए ।

मृतकका परिवारलाई नेकपाले पाँच–पाँच लाख दिने प्रचण्डको घोषणा

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष प्रचण्डले बारा–पर्सामा हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई पार्टीले पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । राहत सामग्री वितरण गर्न मंगलबार बाराको फेटा पुगेका प्रचण्डले सहयोग घोषणा गरेका हुन् ।

‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने व्यवस्था गर्छौँ,’ प्रचण्डले भने, ‘पीडितका घर बनाउन सरकारले सहयोग गर्छ, घाइतेको निःशुल्क उपचार हुन्छ ।’ प्रचण्डले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेलाई पनि भेटेका छन् ।

कोषमा २५ लाख दिने देउवाको घोषणा, सांसदको दुई दिनको तलब पनि

कांग्रेसले हुरी प्रभावितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार बाराको फेटा गाउँपालिका पुगेर सहयोगको घोषणा गरेका हुन् । सोमबार कांग्रेसका ६३ सांसदले दुई दिनको तलब हुरी प्रभावितलाई दिने सो पार्टीको संसदीय दलले बताएको थियो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले राहत कोषमा छुट्टै १० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । निधिले पार्टीको प्रदेश २ र आफ्नोतर्फबाट गरी १० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका हुन् । यसरी कांग्रेसका तर्फबाट ४५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा भएको छ ।

पीडा नियाल्न गाउँ पुग्नेको ताँती तर, मुख्यमन्त्री राहत कोषमा जम्मा पाँच लाख

सामान्य अवस्थामा वीरगन्ज गण्डक चोकबाट कलैया–१८ स्थित भरबलिया पुग्न सवारीसाधनमा लाग्ने समय करिब ३० मिनेट हो । तर, अहिले डेढ घन्टामा पनि पुग्न मुस्किल पर्छ । कारण हो, ध्वस्त बस्तीमा पीडा नियाल्न जानेको भिड । काठमाडौंदेखि छिमेकी जिल्ला र बाराकै अन्य गाउँबाट सयौँ व्यक्ति गाडी, मोटरसाइकल र पैदलै फेटाका प्रभावित वडा र कलैयाको भरबलियामा भिड लाग्ने गरेका छन् । गाउँमा पीडितभन्दा रमिते चौबर छन् । हावाहुरीले ध्वस्त बस्ती लावालस्कर सवारीसाधनसहित पुग्ने राजनीतिक दलका नेताका कारण झन् अस्तव्यस्त बनेको छ । फेटा–३ र ६ का बस्ती पुग्नुभन्दा एक किलोमिटर वरैदेखि सडकछेउमा सवारीसाधनको लस्कर देखिन्छ । सडक ढाकिने गरी भिड छ । राहत बोकेर गएका सवारीसाधन भिडले घन्टौँसम्म जाममा रोकिनुपर्ने अवस्था छ ।

पीडाले ओइलाएका अनुहारसँग सेल्फीको मजाक लिनेको भिड
भरबलियाका २२ वर्षीय राजेन्द्र पटेल (कुर्मी) हावाहुरीले दिवंगत आमाको किरिया बार्न बुबासँगै थिए । बाल्टिन बोकेका एक हुल विद्यार्थी कुर्मीनजिकै पुग्यो । बाल्टिनमा राहतका केही पोका थिए । राजेन्द्रका बुबालाई विद्यार्थीको हुलले कोराबाट निकालेर केही पर लग्यो । हातमा बाल्टिन थमायो । अनि विभिन्न भावभंगीमा सेल्फी हान्न थाल्यो । यो प्रतिनिधि घटना हो । क्षतविक्षत बस्तीमा पीडाले ओइलाएका अनुहारसँग सेल्फीको मजाक लिनेको भिड बाक्लै देखिन्छ ।

मुख्यमन्त्री राहत कोषमा मंगलबारसम्म ५ लाख १६ हजार ६ सय २१ रुपैयाँ जम्मा भएको प्रदेश लेखानियन्त्रक कार्यालयले जनाएको छ । ‘अहिलेसम्म ३५ जनाले मुख्यमन्त्री राहत कोषमा रकम जम्मा गर्नुभएको छ,’ प्रदेश लेखानियन्त्रक कार्यालयका प्रमुख विनोद गेलालले भने, ‘सहयोग गर्नेहरूको संख्या बढ्दै गएको छ ।’

हावाहुरी प्रभावित सबै बस्तीमा राहत सामग्रीको भने ओइरो लागेको छ । तर, वितरण प्रणाली व्यवस्थित छैन । वास्तविक पीडित राहतबाट विमुख छन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी नजिवुल्ला अन्सारीले भने, ‘राहतका सामान आएका छन् । तर, वितरण व्यवस्थित छैन । पाउनुपर्ने मान्छेले पाएका छैनन्, नपाउनुपर्नेले कुम्ल्याइरहेका छन् । यस्तै रहने हो भने पीडित झन् पीडित हुने अवस्था छ ।’….नयाँ पत्रिकाबाट