समाचार

बढी भाडा लिने ट्याक्सी कारवाहीमा

चिप्लेढुङ्गा । ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारवाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सादा पोशाकका प्रहरी खटाएर कारवाही अगाडि बढाएको हो ।

पोखराका विभिन्न स्थानबाट आज ३१ ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिए । “पर्यटकीय शहर पोखरामा ट्याक्सी चढ्नेहरुको निकै गुनासो आइरहेको थियो । पटक पटक मिटरमा चलाउने सहमति भए पनि कार्यान्वयन नभएपछि हामीले कारवाहीलाई अगाडि बढाएका हौँ ”, मिश्रले भने “नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात कार्यालयबाट बढी भाडाअन्तर्गत कारवाही हुनेछ ।”