समाचार

मोबाइल एप्स बाटै ट्राफिक बत्ती नियन्त्रण

ललितपुर । ललितपुर महानगरपालिकाले ‘मोबाइल एप्स’ बाटै ट्राफिक बत्तीको नियन्त्रण गर्ने प्रविधि शुरु गरेको छ । महानगरपालिकाले आजदेखि जावलाखेलको अल्का चोकमा यो प्रविधिको शुरुआत गरेको हो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक प्रहरी कुन्दनकुमार शाहलाई ‘एप्स’ प्रयोगका लागि मोबाइल सेट हस्तान्तरण गरेका छन । यो प्रविधिअनुसार मोबाइल प्रयोग गरेर सवारीको चापअनुसार सडक बत्तीको नियन्त्रण गर्न सकिन्छ । सडकमा हुने सवारी साधनको चापअनुसार ट्राफिक प्रहरीले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

अल्का अस्पताल चोकमा अहिले परीक्षणका रुपमा मात्रै प्रविधिको शुरुआत भएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनका अनुसार यसअघि ललितपुर महानगरपालिकाले छ जना ट्राफिक प्रहरीलाई यो प्रविधिको प्रयोगसम्बन्धी तालीमसमेत दिएको थियो । यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने उनले बताए । आगामी दिनमा प्रविधि विस्तार गर्ने महानगरको योजना रहेको छ । उनले भने “यो परीक्षण सफल भएमा अरू २० स्थानमा समेत प्रविधि विस्तार गर्ने योजना छ ।”

अल्का चोकमा उग्रचण्डी मन्दिरबाट आउने सडकमा सेन्सर बिछ्याइएको महानगरले जनाएको छ । त्यो ‘सेन्टर’ मा गाडीको चक्का पर्नासाथ बत्ती बल्ने र सोहीअनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्ने महानगरले जनाएको छ ।