समाचार

नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त –मन्त्री मगर

काठमाडौँ । खानेपानीमन्त्री बिना मगरले नेपालको पानी कतारलगायतका खाडी मुलुकमा निर्यात गर्ने विषयमा सरकारले पहल गरिरहेको बताइन् ।

आफूसँग आज शिष्टाचार भेटका लागि पुग्नुभएका कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेललाई मन्त्री मगरले सो कुरा बताइन । उनले नेपालको पानी त्यसै खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरीन उनको सचिवालयले जनाएको छ ।

मन्त्री मगरले भनीन, “स्रोतको सदुपयोग गरेर हिमाली क्षेत्रको पानी निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदमै उत्साहित छु ।” हिमाली क्षेत्रको पानी निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उनले बताइन।

सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिइन्। सोही भेटघाटमा सहभागी भएका विभागका महानिर्देशक सुनिलकुमार दासले ‘स्प्रिङ वाटर’ निर्यात गर्ने विषयमा विभागले अब छिट्टै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताइन ।

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पारे । उनले भने, “कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या छ । आगामी दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी आवश्यक छ ।” उनले अरू देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राखीन । नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको उनको भनाइ थियो ।