बाग्मती

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ख ६६७ नं को बस जाँचका क्रममा चितवन, पदमपुरका ३६ वर्षीय राजेन्द्र अधिकारीलाई आज पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लागुऔषध लुकाएर ल्याएको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीसँग प्रहरीले डाइजेपाम, नुर्फिन र फेनार्गन ८९ एम्पुल तथा नाइट्राभेट ९ ट्याब्लेट बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएकोछ ।

यसैगरी महानगरीय प्रहरी बिट लगनखेलले लागुऔषधसहित ललितपुरको गोदावरीका ३२ वर्षीय सुजन सिलवाललाई सोमबार पक्राउ गरेको छ । डाइजेपाम, नुर्फिन र फेनार्गन १२ एम्पुल, सिरिन्ज चार थान, नाइट्राभेट ट्याब्लेट चार थान र नगद रु २१ हजारसहित सिलवाल पक्राउ परेका हुन् ।