कर्णाली प्रदेश

कर्णाली प्रदेश कारागारमा किताब अभियान

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ‘कारागारमा किताब अभियान’ कार्यान्वयन तहमा जाने भएको छ । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले आज पत्रकार सम्मेलनमार्फत पुस्तक अभियानका बारेमा जानकारी गराएका हुँन।

हुम्ला र मुगुमा कारागार नभए पनि बाँकी आठ जिल्लाका कारागारका लागि आठ हजार ३८८ पुस्तक सङ्कलन गरिएको शाहले जानकारी दिए । “प्रदेशस्तरबाट चार हजार २८२ र जिल्लास्तरबाट चार हजार १०६ पुस्तक सङ्कलन गरिएको छ”, उनले भने । सङ्कलित पुस्तकबाट यही चैत २३ गते १० जिल्लामा एकसाथ पुस्तकायलय स्थापना गरिनेछ । पुस्तकालयको सुर्खेतमा सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्ने कार्यक्रम छ । हाल रु दुई लाख बराबरको पुस्तक सङ्कलन गरिएको छ । प्रदेशस्तरबाट रु नौ लाख ६८ हजार तथा जिल्लास्तरबाट रु ११ लाख ४० हजारको पुस्तक सङ्कलन गरिने छ । नेपाल लाईब्रेरी फाउण्डेसन, जर्नेल संरक्षणमञ्च र अञ्जु पन्त फाउण्डेसनले पनि पुस्तक सहयोग गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला र डोल्पा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक राखिएको छ । हुम्ला र मुगुमा कारागार भवन हस्तान्तरण नभएकाले प्रशासन र प्रहरीकै कार्यकक्षमा पुस्तकालय स्थापना गर्नेगरी तयारी भइरहेको छ । अभियानअन्तर्गत प्रदेशमा १७ सदस्यीय ‘कारागारलाई किताब अभियान’ समिति गठन गरिएको छ भने प्रत्येक जिल्लामा पनि उपसमिति गठन भएका गरिएको छ ।

लेखकसँग कैदी

यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ । कैदीसँग भेट्नका लागि सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार नयनराज पाण्डे र कवि नवराज पराजुलीको उपस्थिति रहने प्रहरी नायब महानिरीक्षक शाहले बताए ।

त्यसैगरी दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम पश्चिममा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाको सहभागिता रहनेछ । जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, जुम्लामा शिवानीसिंह थारु तथा डोल्पामा अमर न्यौपानेको उपस्थित रहनेछ ।

कारागारभित्रै ‘बुक क्लब’ गठन

कर्णालीका कैदीमा पठनीय सोचको विकास गर्न र पुस्तक पढाइमा प्रोत्साहन दिन कारागारभित्रै ‘बुक क्लब गठन’ गरिने भएको छ । कैदीले आफूले पढेर अरुलाई पढ्न उत्पेरित गरुन भन्ने उद्देश्यले गत मङ्सिरदेखि सो अभियान थालेको प्रहरी नायब महानिरीक्षक शाहले बताए । “हामीले पुस्तकालय खोल्ने मात्र होइन, कारागारका कैदीमा पुस्तक पढ्ने संस्कृतिको विकास गर्छौँं । यसका लागि बुक क्लब गठन गरिएको हो ।” कैदीले पढेका पुस्तकमाथि हरेक शनिबार बहस गरिनेछ । पुस्तकका विषयमा छलफल समेत गराइने उनले बताए। पुस्तक अध्ययन गरी उत्कृष्ट सोचको विकास गर्ने कैदीलाई किताब नै दिएर पुरस्कृत गरिनेछ ।