बाग्मती

सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बारा र पर्सामा भीषण हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले विषम परिस्थितिमा उच्च सतर्कता अपनाइ बालबालिका, प्रसूति महिला, वृद्ध, अपाङ्ग र असक्तका निमित्त आवश्यक सुविधाको सुनिश्चितता गर्दै यथाशीघ्र राहत दिन आग्रह गरेको छ ।

सो सञ्जालका अध्यक्ष कुमार भट्टराईले आज जारी गरेको विज्ञप्तिमा हुरीकै कारण दर्जनौँ विद्यालय क्षतिग्रस्त भई सयौँ बालबालिकाको पठनपाठन अवरुद्ध भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रकृतिले निम्त्याएको यस जटिल परिस्थितिमा धैर्यता राखी एकआपसमा सहयोग र सहकार्य गर्दै पीडितको उद्दार तथा राहतको कार्यमा स्वयंसेवकका रुपमा नागरिक तथा सङ्घ संस्था एकजुट भई खटिन सम्बन्धित सबैमा आग्रह गरिएको छ । संस्थाले थप समन्वयका लागि प्रदेश नं २ का संयोजकलाई जिम्मेवारी दिएको छ ।