पत्रपत्रिका

सुनको आयात मात्रै नगर्न व्यवसायीलाई अर्थमन्त्री डा.खतिवडाको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सुनका वस्तु निर्यातलाई पनि जोड दिन व्यवसायीलाई आग्रह गरेका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघको छैटौँ वार्षिक साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सुनको आयात मात्रै गरेर नबस्न व्यवसायीलाई आग्रह गरेका हुन । सुनको आयात र निर्यात गर्न नेपालमा सुनको बैंक स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्योलनको अवस्थालाई चाँडै अन्त्य हुने बताएका छन । संघीयतामा मुलुक गएपछि औद्योगिक प्रशासनमा अलमल देखिएको स्वीकार गर्दै उनले अबको दुई महिनामा समस्या समाधान हुने बताए । उनले भने, ‘औद्योगिक व्यवसाय ऐन संशोधन गर्न खोजेका थियौँ । तर, यो संशोधन हुन सकेन, अब चाँडै हुनेछ  ।’ उनले सरकारले निजी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक कानुन निर्माण गरेर सहज वातावरण बनाउने बताए । व्यवसाय दर्ता, नवीकरण र कुन उद्योग कसले हेर्ने भन्ने अन्योल रहेकाले अब केही महिनाभित्रै १० ठाउँ धाउनुपर्ने समस्याको अन्त्य गरिने बताए ।

ठूला व्यवसायाई लगानी बोर्डमार्फत एकद्वार प्रणाली लागू गर्न लागिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले सरकार श्रमजीवी वर्गको पक्षमा रहेकाले सीपमूलक उद्योगको प्रवद्र्धनमा सहयोगी बन्ने बताए । कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले सुनचाँदी नेपालको मौलिक पेसा भएकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपालमा आर्थिक प्रगतिका लागि यस्ता सीपमूलक उद्योगको प्रवर्द्धन गर्न अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बजारको मागको तुलनामा बैंकले व्यवसायीलाई अत्यन्त कम परिमाणमा सुन दिने गरेको बताए । व्यवसायीले प्राप्त गर्ने सुनको परिमाण नबढाए सुनचाँदी व्यवसायी समस्यामा पर्ने उनको भनाइ थियो ।  महासंघमा मुलुकभरका २२ हजार व्यवसायी आबद्ध छन भने ६१ वटा जिल्ला शाखा र ३० वटा एसोसिएट सदस्य रहेका छन । नयाँपत्रिका