पत्रपत्रिका

अस्पतालका घाइतेलाई थाहा छैन परिवारको हालखबर

बारा परवानीपुर–४ चैतपुरकी सिउकली देवीको घरमा आइतबार साँझ खाना पकाउने तरखर हुँदै थियो । परिवारका सबै सदस्य घरमै थिए । तर, हावाहुरी चलेको एकैछिनमा के भयो, सिउकलीलाई पत्तो छैन । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचाररत उनी होस खुलेपछि झस्किइन्, छोराछोरी र श्रीमान् कहाँ छन्, अवस्था कस्तो छ रु अस्पतालको शय्यामा उनी चिन्तामा छिन् । ‘छोराछोरी र श्रीमान्को अवस्था के छ थाहा छैन, म त बाँचेँ, उनीहरू के भए, चिन्ता बढेको छ,’ सिउकलीले भनिन् ।

बाराको फेटा गाउँपालिका–३ भलुहीका महीन्द्र राम नारायणी उपक्षेत्रीय अस्पतालको शय्यामा छन् । उनलाई पनि परिवारका सदस्य कहाँ छन्, के भयो, केही थाहा छैन । टाउकोमा चोट लागेका महीन्द्र आफू निको हुँदै गएका छन्, तर परिवारको चिन्ताले मानसिक पीडा दिएको छ । ‘डाक्टरहरूले सन्चो हुँदै गएको छ भनेका छन्,’ महीन्द्रले भने, ‘तर परिवार कहाँ छन् भन्ने चिन्ताले मलाई सताएको छ ।’

आइतबार साँझ वीरगन्जमा हावाहुरी चले पनि क्षति पुर्‍याउने खालको थिएन । साढे ८ बजेतिर चिनजानका एक दाइको फोन आयो । उनले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा हावाहुरीले ठूलो क्षति पुर्‍याएको सूचना दिए । म तत्काल वीरगन्जबाट त्यता लागेँ । चार किलोमिटर दूरी पार गरेर राति पौने ९ बजे चैनपुर पुगेँ ।

चैनपुर चोकमा एक दर्जन पोल लडेका थिए । राजमार्गमा गाडी पल्टिएका थिए । स्थानीय उद्धारमा खटिएका थिए । धेरै घरहरू क्षतिग्रस्त थिए । सुरक्षाकर्मीहरू उद्धारमा लागिसकेका थिए । घाइतेलाई अस्पताल लैजाने क्रम सुरु भयो । जनप्रतिनिधि पनि उद्धारमा खटिएका थिए । घटनास्थलमा रहेका जनप्रतिनिधिसँग क्षतिबारे जानकारी लिन थालेँ ।

तीन सयको हाराहारीमा केही पक्कीसहित फुसका घरहरू भत्किएका थिए । रातभर उद्धार चल्यो । हावाहुरीपीडितहरू रातभर भोकै बस्न बाध्य भए । अनुमानका आधारमा पनि मृतक र घाइतेको तथ्यांक विभिन्न माध्यमबाट आउँथ्यो ।

नारायणी अस्पताल, नेसनल मेडिकल कलेजलगायत अस्पतालमा घाइतेलाई लगिएको थियो । राति ११ बजेतिर चैनपुरबाट अस्पतालतिर लागेँ । नारायणी उपक्षेत्रीय र एनएमसीमा घाइते खचाखच थिए । व्यवस्थापन गर्न अस्पताललाई मुस्किल परिरहेको थियो ।

बिहानपख अस्पतालहरूमा घाइतेको व्यवस्थापन भयो । उपचारपछि धेरै घाइते सामान्य बन्दै गएका छन् । गण्डक अस्पतालमा ४० भर्ना भएकोमा १५ जना सोमबार घर फर्किसकेका छन् । एनएमसीमा दुई सयभन्दा बढी उपचाररत छन् । अस्पतालहरूले बिरामीलाई आफैँ खाना बनाएर खुवाएका छन् ।

अस्पतालहरू भन्छन्–औषधि, शय्या, रगत र चिकित्सक पर्याप्त
अस्पताल भर्ना भएका घाइतेको उपचारमा कुनै कमी नभएको अस्पतालहरूले जनाएका छन् । अधिकांश घाइते वीरगन्जस्थित नारायणी अस्पताल, नेसनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर र गण्डक अस्पतालमा उपचाररत रहेको पर्सा प्रहरीले जनाएको छ ।

‘घाइतेको उपचारमा कुनै कमी छैन,’ नारायणी अस्पतालका फिजिसियन डा। उदयनारायण सिंहले भने, ‘भर्ना भएकाहरूको अवस्था खतरामुक्त छ ।’ घाइतेमध्ये अधिकांशको टाउको, ढाड, मुख र खुट्टामा चोट लगेको उनले बताए ।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले रगत पर्याप्त रहेको जानकारी दिए । ‘पहिले रगतको अभाव थियो । अहिले चार सय पोका रगत स्टक छ,’ उनले भने । रक्तसञ्चार केन्द्र वीरगन्जले रगत अभाव हुन नदिन वीरगन्जका विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सर्वसाधारणलाई रक्तदानका लागि आह्वान गरेको थियो । त्यसैअनुसार सहयोग भएपछि रगत संकलन सहज भएको पाण्डेले बताए ।

घाइतेहरूको अवस्था सामान्य बन्दै
घाइतेहरूको अवस्था सामान्य बन्दै गएको छ । नारायणी अस्पतालमा रहेका अधिकांशको डिस्चार्ज गर्ने अवस्था रहेको डा. सिंहले बताए । नयाँ दैनिकबाट साभार..