पत्रपत्रिका

३ मिनेटमै महाविनाश

फेटा/सिमरा/चैनपुर/भरबलिया, बारा । असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् । बाराको फेटा गाउँपालिकाको करिब २ सय किमिको सेरोफेरोमा सर्वाधिक जनधनको क्षति भएको छ । आधा घण्टामा करिब १८ किमि विध्वंसकारी याक्रा गरेको शत्तिशाली हुरीले प्रत्येक बस्ती करिब ३ मिनेटमै तहसनहस बनाएको हो ।

६२ वर्षे महन्थ रामलाई लागेको थियो– आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरूको झैं सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्‍याएको थिएन । जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । सुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो ।

‘सामान्यै त होला भनेर हिम्मत गरेर घरबाट निस्किएको थिएँ,’ बारा चैनपुरका रामले भने, ‘हावाको झोक्का यति तातो अनुभव गरेँ जुन यसअघि जीवनमा कहिल्यै महसुस गरेको थिइनँ । हेर्दाहेर्दै गाउँका ३ सय घरका छाना र भित्ता केही बाँकी रहेनन् । पक्की घरका छाना र पर्खाल पनि खसे ।’ सोही गाउँका ७५ वर्षीय वृद्ध हिरामन महराको मुटु अझै काँपिरहेको छ ।

जीवनमै यस्तो शक्तिशाली हुरी नभोगेका उनले २ घर गुमाए । पाकिसकेको गहुँ पनि असिनाले पिटेर सोत्तर बनायो । ‘न घर रह्यो, न खानलाई अन्न,’ उनले चिन्तित हुँदै भने, ‘अब कहाँ टाउको लुकाउने, केको रोटी खाने, १२ जनाको परिवारमा मुखमा माड नलाग्ने स्थिति आयो ।’ विनाशकारी हुरीपछि पर्सासँग जोडिएको बाराको पश्चिमी गाउँपालिका परवानीपुर–४ का अधिकांश घरमा चुलो बलेन । खाना पाकिसकेकाहरूले पनि खान पाएनन् ।

अधिकांश घर भत्केको र छानो उडेकाले स्थानीयले खुला आकाशमुनि सुत्नुपर्‍यो । एकाध पक्की घर मात्र जोगिए ।यो गाउँभन्दा पश्चिममा रहेको पर्साको वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरवासीको पीडा पनि कम दर्दनाक छैन । स्थानीय राजकुमार पटेलले आफ्नो गाउँमा त ३ मिनेट पनि भुमरीसहितको हुरी आएको थिएन । ‘हाम्रो गाउँमा भुमरी यस्तै १ मिनेटभन्दा लामो थिएन होला,’ उनले भने, ‘सुरुमा बिस्तारै आयो, त्यसपछि एकदमै तीव्र भयो । तर त्यति छोटो अवधिमै मेरा २ वटै घरका छानो उडाएर लग्यो । परिवारै रातभर खुला आकाशमुनि सुतेका छौं । खाना पनि छिमेकीले खुवाए ।’

शक्तिशाली हुरी आउँदा ६० वर्षीया फुलमन खातुन घरमै थिइन् । अचानक आएको त्यो विपत्तिले उनको पनि घरको छानो उडाएर लग्यो । ‘घरमा खाना पाक्दै थियो, बीचमै तबाही भयो,’ उनले भनिन्, ‘मैले जीवनमै यस्तो विनाशकारी बबन्डर देखेकी थिइनँ ।’ शक्तिशाली हुरीले गाउँका करिब सय घरमा क्षति पुर्‍याएको छ । यो क्षेत्र हुँदै पूर्वतर्फ अघि बढेको हुरीले चाचान समूहको दाल र तेल मिलका साथै सिमेन्ट उद्योग, कलश सिमेन्ट र विश्वकर्मा सिमेन्टका उद्योगमा पनि क्षति पुर्‍याएको छ ।

त्यसपछि त्रिभुवन राजपथमा गुडिरहेका र छेउछाउमा पार्किङ गरिराखेका भारी मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई पल्टाउँदै बाराको चैनपुर गाउँतर्फ हान्निएको हुरीले त्यहाँबाट पनि पूर्वतर्फ बाराको भलुही भरबलिया हुँदै फेटा गाउँमा पुगेर सर्वाधिक विध्वंश्स मच्चाएको थियो । शक्तिशाली हुरीले आधा घण्टामा करिब १८ किमि विध्वंसकारी यात्रा गरेको थियो ।

अधिकांशको मृत्यु च्यापिएर
बाराको फेटामा करिब दुई मिनेट चलेको हुरीले कच्ची र पक्की घरसमेत भत्काएको छ । अधिकांशको घरभित्रै च्यापिएर मृत्यु भएको स्थानीयले बताए । ‘हुरी साँझको खाना पकाउने र खाने बेला ७ बजेतिर चलेको थियो ।

जोगिने मौकै मिलेन । एकैछिनमा कहिल्यै नबिर्सिने काल आयो,’ श्रीमती र बुहारी गुमाएका फेटा ६, पुरैनियाका ५५ वर्षीय फेजुल हक मियाँले भने, ‘यस्तो शक्तिशाली भुमरी कहिल्यै देखेको थिइनँ । तीन वर्षअघिको विनाशकारी भूकम्पभन्दा पनि खतरनाक र शक्तिशाली थियो ।’

फेटा १, भरबलियाका ४५ वर्षीय अमरसिंह पटेलले खोलामा आएको बाढीझैं केही क्षणको हुरीबतासले गाउँ तहसनहस बनाएको बताए । बाँगिएर हुरी चलेको उनले सुनाए । ‘घरअगाडिको घुम्ती पसलमा गाउँलेसित बसेर गफ गर्दै थियौं, बेजोडसँग हावा चल्न थाल्यो,’ उनले भने, ‘कसैले कसैलाई नदेख्ने अवस्था बन्यो ।’

पुरैनियाकै ७० वर्षीय जागिर मियाँका अनुसार घरबाट निस्कनै नपाएका कारण मानवीय क्षति बढी भएको बताए । ‘म, छोरी र ३ नातिनातिना भगवानको नाम जपेर बाँच्यौं,’ उनले भने, ‘घर पूरै भत्किएको छ ।’

मृत्यु र घाइते भएकामा अधिकांश महिला, वृद्ध र बालबालिका छन् । स्थानीय इजहार अन्सारीको परिवारका ४ जनाको मृत्यु भएको छ । अव्यवस्थित बिजुलीका पोल र सँगै रहेका घर ढलेर धेरै क्षति भएको छ । माटो र इँट्टाको गारो लगाइएका र पिल्लर नभएका करिब ३ सय घर भत्किएका छन् । कलैया उपमहानगरपालिका १८, धर्मनगरको काजोल इँटाभट्टामा बनाइएको घरमा ४ भारतीय मजदुरको मृत्यु भएको छ ।

सुवर्ण गाउँपालिका ५ पर्शुरामपुरमा ६ महिनाकी गर्भवती र वडा ४ को हर्दियामा एक पुरुषको मृत्यु भएको छ । महागढीमाई नगरपालिकामा एक जनाको ज्यान गएको छ । फेटा गाउँपालिका ६ मा ९ जनाको र वडा नम्बर १ मा ६ जनाको र प्रसौनी गाउँपालिकाको वडा ४ खुटवाजब्दीमा १ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । ‘२५ जनाको सनाखत भएको छ,’ उनले भने ।

उनका अनुसार बारामा ५ सयभन्दा बढी पक्की, अर्धपक्की र फुसका छाना भएका घर भत्केका छन् । घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, विभिन्न पार्टीका कार्यकर्ता र सर्वसाधारणले उद्धार जारी राखेका छन् । थुफ्रै संघसंस्था, व्यक्तिगत, स्थानीय तहलगायतबाट राहतसमेत बाँड्ने त्रम जारी छ । घरबारविहीन सयौं पीडित राहतको पर्खाइमा छन् ।

दाहसंस्कारका लागि शवहरू अस्पतालबाट गाउँमा लगिएको छ । सेना र प्रहरीको टोली बिहानैदेखि घाइतेको उद्धार तथा भग्नावशेषमा परेका पीडितको सरसामान निकाल्ने कार्यमा जुटेका छन् ।

हेलिकप्टर उडेजस्तै आयो
पथलैया–वीरगन्ज सडकखण्डको चैनपुर चोकस्थित विष्णु मन्दिरमा सधैँझैं आइतबार साँझ पनि पूजा सकेर घर जाने तरखरमा थिए लक्ष्मी पटेल । अचानक हावाहुरीसहित पानी पर्न थाल्यो । हुरी विस्तारै तीव्र हुँदै गयो । पटेल मन्दिरबाट निस्कन लाग्दा हुरीले सडकमा रोकिराखेको पिकअप भ्यान पल्टायो ।

परवानीपुर गाउँपालिका ४ का पटेलले भने, ‘आइतबारको आँधी पहिलेजस्तो थिएन, गाडीलाई समेत पल्टायो । डरसँगै अचम्म लाग्यो, हावा नाचिरहेको थियो ।’ त्रिभुवन राजमार्गमा आधा दर्जन बस, मोटरसाइकलसमेत पल्टिएको उनले देखे । करिब डेढ मिनेट वितन्डा मच्चाएर हुरी अगाडि बढेपछि पटेल घरतर्फ दौडिए । ‘पत्याउनै गाह्रो भयो, बिजुलीका पोल भाँचिएका थिए, आँधीको रुटमा परेका खरका घर ध्वस्त थिए, पक्की घरलाई पनि क्षति पुगेको थियो,’ उनले भने ।

फेटा गाउँपालिका ६, की तीन दिनकी सुत्केरी अमिरु नेशा, जसले आइतबार साँझ शक्तिशाली हुरी आउँदा भत्किँदै गरेको पक्की घरभित्र घोप्टो परेर अँगालोभित्र नवजात शिशुका साथै २ वर्षे छोरा इर्साद र ४ वर्षे इर्खानलाई च्यापेर जोगाएकी थिइन् । साथमा उनका तीन सन्तान । सुत्केरी छोरी र नातिनातिनालाई जोगाउन लागिपरेका अमिरुका पिता ६५ वर्षे जाकिर मियाँ सोमबार साँझसम्म पनि होसमा आएका छैनन् । तस्बिर: लक्ष्मी साह/कान्तिपुर

चैनपुर चोकको पश्चिममा रहेको नारायणी मोर्डन पल्सेज उद्योगका महाप्रबन्धक सुनील शर्मा हुरी आउँदा बाहिर रहेका दाल गोदाममा राख्न लगाउँदै थिए । ‘केही समयभित्रै कल्पना नै गर्न नसक्ने अवस्था आयो,’ उनले भने, ‘यस्तो त हलिउडका फिल्ममा मात्र देखेको थिएँ ।’ उनको उद्योगमा रहेका ३२ गोदाममा क्षति पुगेको छ । छाना उडेका छन् । हुरीले छाना उडाएपछि मेसिन बन्द गरिएकोउनले बताए ।

हुरीले आफ्नो रुटको दायाँ र बायाँका ४०र५० मिटर क्षेत्रमा पर्ने संरचना ध्वस्त बनाएको छ । वीरगन्ज–कलैया सडकलाई भलुही चोकबाट ‘क्रस’ गर्दै हुरी भलुही, भरबलिया, पुरैनिया, गम्हरियातर्फ बढेको छ । भलुही चोकका पक्की घर पनि भत्किएका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रका प्राध्यापक भरबलिया निवासी वीरेन्द्रप्रसाद साहका अनुसार आइतबार रातिको जस्तो शक्तिशाली हुरी यसअघि कहिल्यै अनुभव नगरेको गाउँका बूढापाकाले समेत बताएका छन् । ‘ठूलो शक्तिसहित आएको आँधीले डेढ मिनेटमै आफ्नो रुटमा पर्ने संरचना ध्वस्त बनायो,’ क्षतिग्रस्त घरमा सोमबार बिहान भेटिएका साहले भने, ‘स्थितिभयावह छ ।’

साँझको खाना पकाउन सुरसार गरिरहेकी फेटा गाउँपालिका १ भरबलियाकी अनिता देवीले आइतबारको हावाहुरीलाई पनि विगतका चैत महिनामा आउने हावाहुरीझैं सामान्य ठानेकी थिइन् । घरको छाना खसेर टाउकोमा चोट लागेकी अनिताले हावाहुरीको केहीबेरमै हेलिकप्टर उडेको आवाजसहित आएको हुरीले ‘बबन्डर’ मच्चाएको बताइन् । ‘आगोको लप्काजस्तो नाच्दै आएको भुमरीले क्षणभरमै विनाश लीला देखायो,’ उनले भनिन् ।

भरबलियाका भोला पटेलले केही समयमै घरहरू ध्वस्त बनेको देखे । हावाहुरी सुरु भएपछि श्रीमती, बुहारी र दुई नातिनीलाई लिएर पुरैनियाका इजहार मियाँ आफ्नो खरको झुपडीमा पसे । मियाँ टोलमा शक्तिशाली हुरी प्रवेश गरेपछि ९ जनाको ज्यान गयो । त्यसमा उनकी श्रीमती, बुहारी र दुई नातिनातिनीको पनि मृत्यु भयो । छाप्रोमा च्यापिएर घाइते भएका इजहारको वीरगन्जमा उपचार भइरहेको छ । पुरनियामा अधिकांश मुस्लिम समुदायका बासिन्दा बसोबास गर्छन् । प्रभावित क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि अनुगमन निरीक्षणमा आए पनि पहिलो दिनको राहत र उद्धार प्रभावकारी नभएको भरबलियाका वीरेन्द्र साहले बताए ।

बाराको सुवर्ण गाउँपालिका ८ हर्दियाका १० वर्षीय गुलमहम्मद अन्सारी आइतबार साँझ घरमा खेल्दै थिए । उनकी आमा खाना पकाएर खुवाउन तयारी गर्दै थिइन् । त्यही बेला पानी पर्लाजस्तो भयो । आकाशमा बिजुली चम्किरहेको थियो । हल्का असिना पर्‍यो । अलिअलि हावा पनि चल्न थाल्यो ।

त्यसको केहीबेरमै सबैको होस उडाउने गरी हेलिकप्टर उडेको आवाजमा गडगडाउँदै भुमरी आयो । एक निमेषमै अन्सारी परिवारको संसार उजाडियो । छोरा बचाउँदाबचाउँदै आमा तरिखा खातुन घरको छतले थिचिइन् । छोरालाई बचाउन प्रयास गरे पनि घरबाट निकाल्न सकिनन् । उनीसँगै छोरा गुलमहम्मद पनि च्यापिए । तरिखाको घरमै मृत्यु भयो । गुलमहम्मद गम्भीर घाइते भए ।

उनलाई सोमबार अपराह्न नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि राजधानी काठमाडौं लगिएको छ । अर्की एक घाइते महिलालाई पनि काठमाडौं पठाइएको छ । अधिकांशको घर भत्केसँगै अन्नपात, भाँडाकुँडालगायतमा क्षति पुगेको छ । घरमा राखिएका सुनचाँदीका गरगहनासमेत हराएको पीडितले बताएका छन् । अहिले आफूहरूलाई खानबस्नसमेत समस्या भएको पीडितले गुनासो गरेका छन् ।

फेटा गाउँपालिका ६ का वडाध्यक्ष जाकिर हुसेन मियाँले एकै परिवारका चार जनाको मृत्यु भएको जानकारी दिए । स्थानीय इजहार मियाँको श्रीमती, बुहारी, नाति र नातिनीको मृत्यु भएको हो । फेटा ६ पुरैनियामा मात्र नौ जनाको मृत्यु भएको उनले बताए । ‘गाउँका एक सयभन्दा बढी घरमा आंशिक क्षति भएका छन्,’ उनले भने, ‘४० घर पूर्ण रूपमा नष्ट छन् ।’ पीडितलाई खानबस्न समस्या रहेको उनले जानकारी दिए ।

त्यसैगरी भलुही भरबलिया गाउँका ९० प्रतिशत घर पूर्ण रूपमा क्षतिग्रस्त भएको कलैया उपमहानगरपालिका १८ का वडाध्यक्ष अम्बिका यादवले जानकारी दिएका छन् । फेटा १ भलुही भरबलियाका ओसियर साह, रामप्रभु मुखिया, शिवपूजन बैठा लगायतको घर पूर्ण रूपमा नष्ट भएको स्थानीय राम प्रवेश मुखिया विनले जानकारी दिए । हावाहुरी आउनेबितिकै मृतक र घाइतेहरू आउन थालेपछि आइतबार कलैया अस्पतालमा निकै चाप थियो । बाराका सुरक्षा निकायमा प्रमुखहरू राति ९ बजेदेखि नै घाइतेको उद्धारमा खटिएका थिए ।

९ जनाको मृत्यु उपचार गर्दागर्दै
वीरगन्जका नारायणी उपक्षेत्रीय तथा नेसनल मेडिकल कलेजलगायत अस्पतालमा सोमबार साँझसम्म पनि घाइतेको भीडभाड थियो । त्यहाँ करिब २ सय घाइते उपचाररत छन् । धेरै घाइते आइतबार राति नै उपचारपछि फर्किसकेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको तथ्यांकअनुसार नारायणी र नेसनल मेडिकल कलेजमा समेत गरी ९ जनाको उपचार क्रममा मृत्यु भएको छ ।

नारायणीका प्रशासकीय तथा सूचना अधिकृत रमेश चौधरीले उपचार क्रममा मृत्यु हुनेमा ठेगाना नखुलेका ६० वर्षका हरिनारायण दास, ६ वर्षीय बालक नन्दलाल पटेल, ५५ वर्षीय अछेलाल माझी, ४५ वर्षकी मनोरमा देवी, २४ वर्षीया रुवी देवी र वीरगन्ज १८ का १८ वर्षीय सरोज राम रहेको जनाए । नेसनलमा उपचार क्रममा बारा फेटा ६ की १२ वर्षीया रुवी खातुन, फेटा ४ का ४० वर्षे हिरालाल साह र फेटा ६ की ५५ वर्षीया बबिया देवीको मृत्यु भएको छ ।

प्रधानमन्त्रीले बुझे घाइतेको अवस्था
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकासमन्त्री इस्तियाक राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोलीले सोमबार दिउँसो नारायणी उपक्षेत्रीय अस्पताल तथानेसनल मेडिकल कलेजमा घाइतेहरूको अवस्था बुझेको थियो । त्यस क्रममा प्रधानमन्त्रीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र संकटको घडीमा थपसेवाभाव देखाउन चिकित्सकहरूलाई निर्देशन दिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसहित प्रदेश सरकारका मन्त्रीहरू घटनास्थल पुगेर पीडित परिवारसँग भेट्नुका साथै क्षति निरीक्षण गरेका छन् । प्रदेश सरकारले मृतक परिवारलाई तत्काल ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने, हुरीबतासबाट पीडितको सहयोगका लागि मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्राले जानकारी दिए । भत्केका संरचना पुनर्निर्माणका लागि सिफारिस गर्न ५ सदस्यीय समिति गठन गरेको र त्यसैका आधारमा पुनर्निर्माण सुरु गर्ने उनले बताए ।

सहयोगका लागि खाता
जिल्ला विपत् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विपत् व्यवस्थापन सहायता कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरेको छ । खाता नम्बर १२६००र१३०१३०१ छ साथै समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । राहत कार्यमा जुट्न स्थानीय तह र अन्य संघसंस्थालाई समितिले आहवान गरेको छ । पीडित गाउँबस्तीमा स्थानीय क्लब, संघसंस्था, रेडक्रसलगायतले राहत सामग्री बाँडे पनि पर्याप्त हुनसकेको छैन । …कान्तिपुर दैनिकबाट साभार…