समाचार

बारको मतगणना शुरु

काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । बारको कार्यालयमा आज साँझ पाँच बजेदेखि मतगणना शुरु भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

उनका अनुसार आज पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको छ । देशभरिबाट मतपेटिका काठमाडौँ ल्याइसकेपछि मतगणना शुरु गरिएको हो । उनले तीन ठाउँको मतगणना सकिएपछि भोलि बिहान ९ बजेदेखि १० वटा स्थानमा मतगणना गर्ने जानकारी गराए । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बृहत् लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेलबीच प्रतिस्पर्धा भएको छ । तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । निर्वाचन अधिकृत खड्काले चार दिनभित्र मतपरिमाण सार्वजनिक गर्ने बताए ।