समाचार

घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने–शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर आइतबार साँझको हावाहुरीबाट घाइते भएका व्यक्तिलाई भेट गरेका छन् । बारा र पर्साबाट उपचारका लागि यहाँ ल्याइएका घाइतेलाई भेटेर मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना पनि गरे ।

घाइतेलाई भेटेपछि मन्त्री पोखरेलले सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । घाइतेको उपचार स्वास्थ्यकर्मीले सूक्ष्म ढङ्गले गरिरहेको उनले बताए । सबै स्रोतसाधन प्रयोग गरेर घाइतेको उपचार गर्न उनले चिकित्सकलाई आग्रह गरे । घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने मन्त्री पोखरेलले बताए । “घाइतेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । खर्चको चिन्ता लिनुपर्दैन,” उनले भने, “घाइतेको उपचार राज्यले गर्छ ।” सङ्घीय सरकारका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

शिक्षण अस्पतालमा मोहमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अन्सारी, कृष्ण पटेल र सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये सात जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौँ ल्याइएको थियो ।