समाचार

ज्येष्ठ नागरिकलाई तीर्थाटन

भक्तपुर । सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताए ।

ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित पञ्चमहालक्ष्मी, काभ्रेस्थलीको तारकेश्वरको शान्तिधाम लगायतका क्षेत्रमा भ्रमण गराएको उनले बताए। भ्रमणमा सहभागी सानुभाइ कार्की, वासुदेव थापा, डल्लु कार्की लगायतले भ्रमण प्रभावकारी रहेको र यसले धार्मिक महत्व बढाएको बताए। संस्थाले विसं २०६७ देखि यसप्रकारको भ्रमण गराउँदै आएको छ ।

तीर्थस्थल घुमाइयो

गिरिजाप्रसाद कोइराला फाउण्डेसन जिल्ला कार्यसमिति भक्तपुर र नेपाली काङ्ग्रेस चाँगुनारायण नगरपालिका–१ कार्यसमितिले यहाँका ८० ज्येष्ठ नागरिकलाई तीर्थायात्रा गराएको छ ।

गिरिजाप्रसाद कोइरालाको नवौँस्मृति दिवसका अवसरमा आयोजना गरिएको चार दिने तीर्थयात्रामा भक्तपुरबाट जनकपुर, बराहक्षेत्र, हलेसी महादेवलगायतका तीर्थस्थलको दर्शन गराइने नेपाली काङ्ग्रेस क्षेत्र नं– १ का क्षेत्रीय सचिव एवं चानपा– १ का वडासदस्य उद्धब खड्काले जानकारी दिए । उनले आफूले एक वर्षको तलब भत्ता र अन्य शुभेच्छुकको आर्थिक सहयोगमा चानपा वडा नं– १ का ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थाटनमा सहभागी गराइएको बताए ।