बाग्मती

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचनाप्रविधिमैत्री सेवा प्रवाह बनाउँदै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचनाप्रविधिमैत्री सेवा प्रवाह बनाउँदै लगेको छ । प्रशासन कार्यालयले सेवा प्रवाहको कामलाई कागजविहीन बनाउने उद्देश्यका साथ सर्वसाधारणका काम अधिकतम प्रविधिमय बनाउँदै लगेको हो ।

कार्यालयले फारामदेखि नागरिकता सम्बन्धी सम्पूर्ण काम प्रविधिमा लगेको छ भने अन्य काम पनि प्रविधिमा लैजाने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सर्वसाधारणलाई सहजरुपमा सेवा प्रवाह गर्न प्रविधि प्रयोगलाई प्राथमिकतामा राखिएको बताए ।

प्रविधिको प्रयोग गदै प्रशासन कार्यालयले कुनै कामका लागि आवश्यक फाराम कार्यालयले वेवसाइटबाट नै उपलब्ध गराउने गर्दछ । राहदानीको सबै काम अनलाइनमार्फत हुनेगर्दछ । राहदानी बने नबनेको र लिन आउने समय समेत कार्यालयको वेवसाइटमा राख्ने गरिएको छ ।  प्रजिअ आचार्यले कुनै जिल्लाको नागरिकता सक्कली हो वा होइन भन्नका लागि यहीँबाट नै परीक्षण गर्ने प्रणाली यहाँ रहेको बताए । उनले सबै विवरण एउटै सफ्टवेयरमा रहने गरी काम भइरहेको जानकारी गराए।

अहिले प्रशासन कार्यालयले नागरिकताका सम्पूर्ण अनुसूचीको रेकर्ड राख्नका लागि सफ्टवेयरको विकास गरिरहेको छ । उनले वडा कार्यालयबाट सिफारिस भएका सबै विवरणलाई स्क्यान गरी सफ्टवेयरमा राखिने बताए । सहायक जिल्ला प्रमुख अधिकारी विनोदकुमार खड्काका अनुसार गृहमन्त्रालयसंग समन्वय गरेर उक्त सफ्टवेयरबाट चाँडै नै काम गर्ने तयारी छ ।

‘‘व्यक्तिको विवरण पटक÷पटक ढड्डाबाट पल्टाउँदा च्यातिने डर हुन्छ’’ उनले भने, ‘‘त्यसैले सिटिजनसिप म्यानेजमेन्ट इन्फरमेशन सिस्टमबाट व्यक्तिको नागरिकता सम्बन्धी सबै विवरण राख्ने तयारीमा रहेका छौ ।’’ उक्त प्रणालीमा जन्म दर्तादेखि नारिकता सिफारिससम्मका सबै विवरण हुनेछ । सर्वसाधारणलाई दैनिक कार्यालयका सूचनाबारे जानकारी गराउन ठूलो स्क्रिन सहितको बोर्ड राखेको छ । उक्त स्क्रिनमा कार्यालयका सबै सूचना हुने गर्दछन् ।

यस्तै कार्यालयले नागरिक बडापत्रलाई समेत डिजिटलाइज्ड गरेको छ । कुन सेवा कुन कोठामा पाइन्छ भनेर उक्त नागरिकपत्रको डिजिटलाइज्डबाट सेवाग्राहीले जानकारी लिनसक्ने छन् । सूचनाप्रविधिबाट सेवा दिन थालिएपछि कार्यालयमा भीड समेत हुन छाडेको उनले बताए । यस्तै कार्यालयले सेवाप्रवाहलाई चुस्त बनाउनका लागि टोकन प्रणाली समेत शुरु गर्न थालेको छ । टोकन प्रणालीबाट सेवाग्राहीले लाइन लाग्ने झण्झट हट्ने र स्क्रिनमा कुन सेवाग्राहीको कति बेला पालो आयो भनेर जानकारी दिइने गरिन्छ । प्रजिअ आचार्यले चाँडै नै टोकन प्रणालीलाई व्यवस्थित रुपमा सञ्चालन गरिने जानकारी गराए ।

यस्तै प्रशासन कार्यालयले दैनिक रुपमा सर्वसाधारणका गुनासोलाई सम्बोधन गर्ने गरेको छ । सेवा लिन आएका सेवाग्राहीका दैनिक गुनासोलाई साँझ प्रजिअको अध्यक्षतामा बैठक बसेर गुनासो सम्बोधन गर्ने गरेको सूचना अधिकारी समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए । ‘‘कुन शाखामा सेवाग्राहीको के गुनासो आयो, हामी साँझ बसेर त्यस्ता गुनासोलाई समाधान गर्दछौ’’ उनले भने, ‘‘अर्को दिन सेवाग्राहीका समाधान गरेका गुनासोलाई जानकारी गराउदछौ ।’’ कार्यालयबाट दैनिक १५० नागरिकता, सय राहदानी, २० वटा सङ्घ संस्था दर्ता हुने गरेका बताइएको छ ।