कर्णाली प्रदेश

घरदैलोमा स्वास्थ्य सेवा

जाजरकोट । भेरी नगरपालिका–९ का ६५ वर्षीय कालीबहादुर पुन लामो समयदेखि छाती दुख्ने समस्याबाट पीडित भएको बताए । पेट दुख्ने ब्यथा लागे पनि आफूलाई उपचार गर्न लैजाने आफन्त नहुँदा पीडा सहेर बसेको उनको दुखेसो थियो । शनिबार बिहान घर नजिकै स्वास्थ्य शिविर छ, भन्ने सुनेपछि जाँच गराएर औषधि सेवन गर्न थालेको उनको भनाइ छ । नजिक स्वास्थ्य संस्था नहुँदा हिँड्न नसक्ने भएकाले अस्पताल जाँन नसकेको भन्दै पुनले भने, “मेयर र अरु डाक्टर आउनुभएको रहेछ, विस्तार गएर जाँच गराएर औषधि ल्याएर खाना लागेपछि आजबाट दुखाइ कम भएको छ ।”

पीडा सुनाउँदै पुनले थपे, “मेयरलाई यिनै हातले भोट हालेको थिए, आज उनकै हातबाट उपचार भयो, खुशी छु बाबु, कल्यान होस्”, त्यस्तै भेरी नगरपालिका–१ डिंगाका ६१ वर्षीया सरिता रानाले २० वर्ष पछि डाक्टरको हातबाट उपचार गराएर औषधि सेवन गर्न थालेको बताए । यहाँले भने, “शुरुमा गाउँमा शिविर आएको छ, भन्दा पत्याएको थिइन्, पछि नातिले हजुरआमा डाक्टर, औषधि र भिडियोएक्सरे ल्याएर तल्लो घरमा शिविर चलाएका छन्, भन्ने सुनेपछि हतार, हतार नातीको हात समातेर डाक्टर कहाँ गएर टाउको दुखेको औषधि लिएर आँए ।”

पुन र रानाजस्तै यहाँका १३ वडाका सयौँ अस्पताल आउन नसक्ने र घरायसी काममा व्यस्त हुने बिरामीका लागि घर, आँगनमै उपचार भएपछि स्थानीय सरकार भएको अनुभूति भएको जनयुद्धमा छोरा गुमाएका जयबहादुर रानाले बताए । नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवासहित घरदैलोमै पुगेर स्थानीयवासीको उपचार गर्न थालेको छ । निःशुल्क घुम्ती शिविर गाउँ, गाउँमा चलाइएपछि यहाँका स्थानीयवासीले खुशी हुँदै आधारभूत सेवा लिन पाएका हुन् ।

नागरिकको घरदैलोमै शिविर राखेर आर्थिकरुपमा पछि परेका, अशक्त, वृद्धवृद्धा तथा बालबालिकालाई स्वास्थ्योपचार गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य जाँच गछौँ, निःशुल्क औषधि दिन्छौँ र जटिल रोग पत्ता लागे सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउँछौँ नगरप्रमुख घर्तीले भने।

भेरी नगरपालिकाको यो अभियानले घरघरमै सिहंदरबारको अनुभूति भएको स्थानीयको भनाइ छ । शिविरमा भिडियोएक्सरे सेवा, दन्तसेवा र पाठेघर पीडित महिलाको लागि सेवा घरदैलोमा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए । शिविरमा महिलाको समस्या बढी देखिएको डाक्टर भूपेन्द्रप्रकाश मल्लले बताए । भेरी नगरपालिकाको आर्थिक सहयोगमा १३ चिकित्सकसहितको टोली गाउँ, गाउँमा उपचारका लागि खटिएको छ ।