प्रदेश 2

मृतकका परिवारलाई तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय

धनुषा । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ ।

आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् ।

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, “हामीले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।”

त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए ।