अन्तर्राष्ट्रिय

सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी: राजा अल साउद

ट्युनिस । साउदी अरबले सिरियाली सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले आइतबार बताएका छन् ।

अरब लिग (एएल) को ३० औँ शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा साउदी राजा सलमानले गोलन हाइट्सबारे आएका अभिव्यक्ति जसले सिरियाली सार्वभौमसत्तामाथि प्रभाव पार्छ साउदी अरबका लागि स्वीकार्य नहुने बताएका हुन् । उनले कब्जामा रहेको गोलान हाइट्सबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हालै गरेको घोषणाबारे पुनः विचार गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको ठीक एक बर्षपछि गत हप्ता एउटा घोषणापत्रमा हस्ताक्षर गर्दै गोलान हाइट्समाथि इजरायली सार्वभौमिक अधिकारको मान्यता प्रदान गरेका थिए । राजा सलमान सम्बोधनमा पूर्वी जेरूसेलमलाई प्यालेटिनी राजधानी र वेष्ट ब्याङ्क र गाजा क्षेत्रलाई स्वतन्त्र प्यालेटाइनको मान्यता दिलाउने पक्षमा साउदी अरबको सहयोग रहने बताए ।

उनले संयुक्त राष्ट्रसङ्घलाई लिविया र यमनको द्वन्द्व अन्त्यका लागि पहल गर्न र अरब क्षेत्रको सुरक्षा र स्थायित्वका लागि इरान सिर्जित खतरालाई अन्त्य गर्न अन्तर्राष्ट्रिय पहल गर्न आग्रह गरेका थिए ।