पर्यटन/संस्कृति

ज्येष्ठ नागरिकलाई चन्द्रागिरि भ्रमण: ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालय सदैव तयार छ

काठमाडौँ । ललितपुर महानगरपालिका–५ ले आफ्नो वडाभित्रका १५० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले आइतबार काठमाडौँको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरिको भ्रमण गराउनाका साथै कोशेलीसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल सरकारका पूर्व मुख्यसचिव दामोदर गौतम लगायत १५० ज्येष्ठ नागरिक हुनुहुन्छ ।

वडाअध्यक्ष विकासमान श्रेष्ठले अनुभवले खारिएका र देशका विभिन्न ओहोदामा पुगेर विश्राम लिएका ज्येष्ठ नागरिकको सम्मान गर्न पाउनु वडालाई गर्वको विषय भएको बताए । “ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालय सदैव तयार छ,” उनले भने ।

नेपाल सरकारका पूर्व मुख्यसचिव गौतमले आफ्नै वडाबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै वडास्तरमा स्वयम्सेवकका रुपमा कार्य गर्ने धोको रहेको बताए । कार्यक्रममा वडा सदस्य अशोक श्रेष्ठ, शोभादेवी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाको सहभागिता रहेको थियो ।