सुदूरपश्चिम

जीर्ण भवनमा इजलास र दर्ता चलानी

बाजुरा । जिल्ला अदालत बाजुराको भवन जीर्ण हुँदा इजलास र दर्ता चलानी एउटै कोठामा सञ्चालन गर्नुपरेको छ । भवन अभावमा अदालतको न्याय सम्पादन लगायतमा समस्या हुने गरेको अदालतले जनाएको छ ।

अदालतको भवन जीर्ण हुँदा आफूलाई न्याय सम्पादन गर्न र बस्नलाई निकै कठिनाई भएको जिल्ला न्यायाधीश तेजनारायण पौडेलले बताए । भवनको अभावले कार्यालयभित्र रहेका दर्ता, चलानी फिराद, तामील, मुद्दा, फाँटलगायतका सात फाँट एउटै कोठामा छन् भने सँगै जोडिएको सानो कोठामा इजलास रहेको छ ।

इजलासमा काम गर्दै गर्दा थकान लागेको समयमा आराम गर्ने कक्ष (चेम्बर) समेत नभएको कर्मचारीको गुनासो छ । अदालतका श्रेस्तेदार भोलाराज रेग्मीले भने, “अदालतमा हुनुपर्ने बाल इजलास, बाल न्याय कक्ष, मेलमिलाप कक्ष, सरकारी वकिल बस्ने कक्ष, साक्षी कक्ष लगायतका कोठा नहँुदा न्याय सम्पदानमा समस्या हुने गरेको छ ।” वकपत्र गर्न आएका वकिल बस्ने कक्षको व्यवस्था हुन नसक्दा आलोपालो गरी बस्नुपर्ने बाध्यता रहेको श्रोस्तदार रेग्मीको भनाइ छ ।

विसं २०३७ मा निर्माण भएको छ कोठे भवन जीर्ण बन्दै गएपछि बर्खामा पानी चुहिने समस्या छ । हाल अदालतमा न्यायाधीश लगायत २२ कर्मचारी छन् । सबैले एउटै कोठामा अलगअलग फाँट बनाएर काम गर्दै आएका छन् । भवन चुहुने भएपछि कागजात जोगाउन समेत निकै कठिनाइ हुने गरेको कार्यालयका कर्मचारीको दुखेसोे छ ।